सडक विभाग डिभिजन कार्यालय र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र

कर्णाली । रानीघाटमा भेरी नदीमाथि बन्न लागेको पक्की पुल आठ वर्षदेखि अलपत्र परेको छ । सडक विभाग डिभिजन कार्यालय सुर्खेत र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पुनःडिजाइन समयमै नहुँदा निर्माण कार्य अलपत्र परेको हो ।

बर्दियालाई सुर्खेतसँग जोड्न छोटो दूरी मानिएको रानीघाट खण्डमा विसं २०६९ देखि पुल निर्माण शुरु गरिएको थियो । ठेकेदार कम्पनी पप्पु/मल्ल जेभी कन्स्ट्रक्सनले प्राविधिक समस्या देखाउँदै लामो समय पुल निर्माण कार्य अलपत्र छाडेको स्थानीयवासीको गुनासो छ । “यदि प्राविधिक समस्या हो भने समयमै समाधानको पहल गर्नुपथ्र्यो”, सुर्खेत बराहताल गाउँपालिका हरिहरपुरका लालबहादुर थापाले भने, “सडक विभाग र ठेकेदारले गर्दा पुल निर्माण अलपत्र पारियो ।” आफूहरुले पटक–पटक जिल्ला प्रशासन सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदा सडक डिभिजन कार्यालय सुर्खेतले सुनुवाइ नगरेको उनले बताए ।

हरिहरपुरकै अर्का स्थानीय गगन वलीले पुल नबन्दा वीरेन्द्रनगर आउन पनि कठिन भएको र झोलुङ्गे पुल खोज्न दुई घण्टाको बाटो हिँड्नुपर्ने बाध्यता सुनाए । पक्की पुल नहुँदा सुर्खेत–बर्दिया सडक स्तरोन्नति हुन सकेको छैन । त्यसले गर्दा सुर्खेतदेखि बर्दिया जान रत्न राजमार्ग हुँदै जानुपर्ने बाध्यता छ ।

footwear zone

पप्पु/मल्ल जेभी कन्स्ट्रक्सनले तीन वर्षमा सो पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता थियो । आठ वर्ष बितिसक्दा बल्ल पुनः डिजाइनको काम थालिएको छ । कम्पनीले निजी कन्सल्टेन्टमार्फत उक्त पुलको पुनः डिजाइनको काम थालिरहेको छ । सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनीयर तुलाराम शर्माले ठेकेदारले १० दिनभित्र डिजाइन पेश गर्ने प्रतिबद्धता जनाएको बताए ।

ठेकेदारले पेश गरेको डिजाइन सडक विभागको पुल महाशाखामा पठाएपछि मात्र निर्माण कार्यअघि बढ्ने उनको भनाइ छ । पिलरको सम्भावित जगमुनी दुई स्थानमा कडा खाले चट्टान भेटिएपछि पुनःडिजाइन बनाउनुपरेको जनाउँदै इञ्जिनीयर शर्माले भने, “विभागले ठेकेदारले प्रस्ताव गरेको डिजाइन स्वीकृत गरेपछि मात्र निर्माणको प्रक्रिया शुरु हुन्छ ।”

You might also like

Comments are closed.