काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
साधारणसभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । सभाले आर्थिक वर्ष २०७६÷७७ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७७÷७८ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाशजंग थापा र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट निर्वाचन अधिकृतले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका भनी गरेको घोषणालाई साधारणसभाले अनुमोदन गरेको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको तेह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड–१९ को प्रभावको कारण तोकिएको समयभन्दा केही पछाडि वार्षिक साधारणसभा गर्नुपरेको व्यहोरा अनुरोध गर्दै शेयरधनीलार्ई आकर्षक प्रतिफल उपलब्ध गराउन र कम्पनीको वित्तीय स्वास्थ्य मजबुत बनाउन सञ्चालक समिति सधैँ प्रतिबद्ध रहँदै आएको बताए । उनले उपभोक्तावर्गको अपेक्षाअनुरूप किफायती, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल र अग्रणी संस्थाको रूपमा विकास गर्न शेयरधनीहरूबाट प्राप्त सहयोग, सद्भाव र सहकार्यका लागि सञ्चालक समितिको तर्फबाट हार्दिक आभार व्यक्त गरे ।
दूरसञ्चार सेवालाई आर्थिक विकासको संवाहकको रूपमा स्वीकार गरिएको सन्दर्भमा कम्पनीले कर राजस्व संकलन, डिजिटल डिभाइड न्यूनीकरण, डिजिटल साक्षरता विस्तार, विद्युतीय सरकारको अवधारणा साकार पार्न लाग्नुको साथै ज्ञानमा आधारित समाज निर्माणको माध्यमबाट राष्ट्र निर्माणमा अतुलनीय योगदान पु¥याउँदै आएको अध्यक्ष बस्यालले बताए ।

‘कम्पनीको कुल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा आयकर, मूल्य अभिवृद्धि कर, सेवा शुल्क, रोयल्टी, लाभांश लगायत शीर्षकमा राजस्वको ढुकुटीमा जम्मा गर्दै आएको तथ्य म यहाँहरूलाई स्मरण गराउन चाहन्छु,’ उनले भने, ‘लकडाउन अवधिमा कम्पनीले टपअपमा प्रदान गरेको शत प्रतिशत वोनस, जिरो व्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट रु. १० करोड र कर्मचारीको तर्फबाट रू. २ करोड गरी जम्मा १२ करोड योगदान गरेको छ ।’ साथै आर्थिक वर्ष २०७६÷७७ मा कर तथा गैह्रकर वापत सरकारी राजस्वमा रू.३५ अर्ब ५ करोड बुझाउन कम्पनी सफल भएको उनले बताए ।
कम्पनीले तुलनात्मक रुपमा लाभ नहुने विकट क्षेत्रमा समेत स्याटेलाइट र अन्य प्रविधिको माध्यमबाट सेवा उपलब्ध गराइरहेको बताउँदै उनले कम्पनीले विश्वबजारमा उपलब्ध अत्याधुनिक दूरसञ्चार प्रविधि भित्र्याउनुका साथै मुलुकमा विद्यमान मुद्रास्फितिका बाबजुद आकर्षक महशुल दरमा सेवा उपलब्ध गराउँदै आएको बताए । यी प्रयत्नहरू मूलतः राष्ट्र निर्माणप्रति मुखरित भएका र यी कदमहरूबाट पन्ध्रौं आवधिक योजनाले परिलक्षित गरेको डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनमा टेवा मिल्ने अपेक्षा राखेको उनले बताए ।
महामारीको अवस्थामा मुलुकको शैक्षिक सत्रलाई पार्नसक्ने प्रभावलाई न्यूनीकरण गरी शैक्षिक संस्थाहरूमा किफायती मूल्यमा वैकल्पिक शिक्षा प्रणाली अगाडि बढाउन नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक र पाठशाला सीयूजी सिम उपलब्ध गराएको र यसले विद्यार्थीहरुको पठनपाठनमा निकै सहयोग पुगेको उनले बताए ।




Comments are closed.