नयाँ वर्ष मनाउन स्वदेश फर्कनेको लर्को

शेरबहादुर सिंह, महेन्द्रनगर । कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व (नयाँ वर्ष) मनाउन घर फर्किने गर्दछन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाउने गरिन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने भीड लाग्न थालेको छ । “अहिले दैनिक एक हजारभन्दा बढी मानिस भारतबाट आइरहेका छन्” उनले भने । सुनारका अनुसार गड्डाचौकीमा सबैको स्वास्थ्य परीक्षणका साथै कोरोना रोगसँग मेल खाने लक्षण देखिए कोरोना परीक्षण गर्ने गरिएको छ ।

एक सातायता गड्डाचौकी नाकाबाट घर फर्किने २६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए । “सङ्क्रमितलाई एम्बुलेन्सबाट महाकाली अस्पताल पु¥याएर उपचार गर्ने प्रबन्ध मिलाएका छौँ” उनले भने,“सङ्क्रमित थपिँदै जाने देखिएकाले आइसोलेसन कक्ष बनाउने तयारी पनि छ ।” गत चैत ८ गतेदेखि सीमामा स्वास्थ्य परीक्षण थालिएको बताउँदै उनले स्वास्थ्य परीक्षणमा स्वास्थ्य सेवा विभागदेखि भीमदत्त नगरपालिकाबाट समेत जनशक्ति खटिएको जानकारी दिए ।

footwear zone

नयाँ वर्षको अवसरमा यहाँ भव्य रूपमा मनाइने विशु पर्वको रौनक कोरोना कहरसँगै घटेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन सरकारले बन्दाबन्दी गरेपछि गत वर्ष पनि धार्मिक सांस्कृतिक वर्ष विशुको रौनक थिएन ।
यस पर्वमा विवाहित महिला माइत जाने गर्छन् । यस पर्वलाई यस क्षेत्रमा स–परिवार भेटघाट गर्ने पर्वका रूपमा समेत लिने प्रचलन रही आएको साहित्यकार हेमबाबु लेखकले बताए । “नयाँ वर्षमा सकारात्मक कुरा आरम्भ हुने भएकाले यसको धार्मिक महत्व पनि छुट्टै प्रकारको छ” लेखकले भने, “तर कोरोना कहरमा सङ्क्रमणबाट जोगिन सर्तकता अपनाउन आवश्यक छ ।”

सुदूरपश्चिम क्षेत्रमा विशु पर्वका दिन सिस्नु लगाउने प्रचलन रहेको छ । खासगरी देवर र भाउजू तथा साली र भिनाजु एकापसमा सिस्नो लगाउने गरेको साहित्यकार लेखकको भनाइ छ । यसरी सिस्नो लगाउनाले वर्ष दिनभर कुनै पनि सङ्कट नआउने विश्वाससमेत गरिन्छ ।

भारतमा केही दिनयता कोरोना सङ्क्रमण उच्च दरमा बढेपछि कतिपय नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । डडेल्धुराको पर्शुराम नगरपालिकाका बिरराम सुनारले आफू परिवारसहित विशु पर्वका लागि घर फर्किएको बताए । “चार महिनाअघि रोजगारीका लागि भारतको पञ्जाव गएको थिएँ ।” आज बिहान घर फर्किदै गर्दा गड्डाचौकीमा भेटिएका सुनारले भने, “पञ्जावमा पनि कोरोना निकै बढेरहेकाले पर्वको बहानामा घर फर्किएका हौँ ।” उनले कोरोना कहर पुनः बल्झिदा रोजगारी नपाएर जीविका चलाउन नसक्ने अवस्थामा पुगिएको दुखेसो पोखे ।

You might also like

Comments are closed.