पोखरा । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा देखिएका समस्याहरु सुल्झाउन सरकारले नीतिगत रुपबाटनै सम्बोधन गर्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको शुभकामना आदान प्रदान एवम् क्यालेण्डर विमोचन कार्यक्रममा रिजालले २०७७ साल विश्वनै महामारीको चपेटामा परेको यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै पर्यटनलाई स्थायीत्व दिन सरकारले आगामी बजेटबाट नीतिगत रुपमा सम्बोधन गर्र्नुपर्ने धारणा राखे ।
आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्र भएपनि यसका अनगिन्ति सम्भावनाहरुको अध्ययन हुन नसक्दा र यस क्षेत्रका समस्याहरुको सम्बोधन हुन नसक्दा व्यवसायीहरु व्यवसायबाट पलायन हुन सक्ने अवस्था सृजना भएको उहाँको भनाइ थियो । रिजालले पर्यटन व्यवसायको विकासका लागि आफूले सरकार र व्यवसायीका लागि पुलको काम गरेर अघि बढ्ने र पर्यटन मैत्री नीतिका लागि पहल गर्ने बताए ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसिले पर्यटन व्यवसायीको गुनासालाई सम्बोधन गर्दै पर्यटन मैत्री पूर्वाधार निर्माणका लागि महानगर तयार रहेको बताए । कोभिड १९ को असरलाई न्यूनिकरण गर्दै पोखराको पर्यटन उकास्न व्यवसायीसँग सहकार्य र समन्वय गरेर जाने उनले बताए । कोभिड १९ कारण देखिएको समस्याबाट विचलित नहुन आग्रह गर्दै जिसीले पर्यटनलाई ब्राण्ड बनाएर लैजान सके सुस्ताएको पर्यटनले गति लिने विश्वास व्यक्त गरे । उनले कोभिडका कारण तीन महिनामा पर्यटन क्षेत्रले ७ अर्ब गुमाउनु परेको उल्लेख गर्दै आर्थिक समृद्धिमा पर्यटनको महत्व रहेकाले यस क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको औल्याए ।

गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पोखराको पर्यटन विकासमा नीजि क्षेत्रको भूमिका उल्लेखनीय रहेको जनाउँदै तीनै तहका सरकारबाट पर्यटनलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सके आर्थिक समृद्धि हासिल हुने बताए । उनले फेवातालको समस्या समाधान उन्मुख रहेको र रत्नमन्दिर सर्वसाधारणको लागि खुला गर्नुपर्छ भन्नेमा दुइमत नभएपनि कार्यान्वयनमा देखिएको ढिला सुस्ति प्रति असन्तुष्टि व्यक्त गरे ।
परिषदका अध्यक्ष गोपीबहादुर भटराईले २०७७ पर्यटन क्षेत्रले ठूलो क्षति भोग्नु परेको स्मरण गर्दै नयाँ वर्ष २०७८ लाई सफल बनाउन सरकारले रणनीतिक योजना सहित पर्यटन क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने बताए । उनले पर्यटनमा एकता र सामुहिक भावनाको खाँचो औल्याउँदै पोखराको पर्यटनलाई अन्तराष्ट्रिय जगतसम्म पुर्याउन विविधता बीचको एकता आवश्यक रहेको बताए । सरकारले ल्याएका नीति समयमा कार्यान्वयन हुन नहुँदा व्यवसायी थप पीडित हुँदै गएको उनको भनाइ थियो ।
सो कार्यक्रममा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटा, नेपाल पर्यटन बोर्डका गण्डकीका अध्यक्ष काशीराज भण्डारी, रेष्टुरेण्ट एण्ड बार एशोसियशनका पोखराका अध्यक्ष लक्ष्मण बराल लगायतले नयाँ वर्षको शुभकामना आदान प्रदानसँगै कोभिड १९ ले पर्यटन क्षेत्रमा पारेको असरको बारेमा आफ्नो धारणा राखेका थिए ।
विभिन्न पर्यटकीय संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरुको उपस्थिती रहेको सो कार्यक्रममा परिषदले तयार गरेको नयाँवर्षको क्यालेण्डर विमोचन गरिएको थियो । सो कार्यक्रम पश्चात पोखरा पर्यटन व्यवसायी र बोर्ड उपाध्यक्ष रिजाल बीच समसामयिक पर्यटनका विषयमा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको परिषदका महासचिव रामचन्द्र शर्माले जानकारी दिए ।




Comments are closed.