‘थट्स अफ म्युजिङस’ प्रकाशित

काठमाडौं । कलाकार तथा कलालेखक मदन चित्रकारद्वारा लिखित ‘थट्स अफ म्युजिङस’ सार्वजनिक भएको छ । सिर्जना कलेज अफ फाइन आर्टस लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कृतिको विमोचन गर्दै पुर्खाले दिएको संस्कृति जर्गेना गर्दै अहिलेको परिवेशलाई कला र संस्कृतिमा उतार्नुपर्ने चुनौती रहेको बताए ।

पुस्तकमाथि टिप्पणी गर्दै सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक सङ्गीता थापाले पुस्तकले नेपाली कलाका विविध आयामलाई खोतल्ने काम गरेको बताउँदै राणाकालमा नेपालमा ३८ दरबार बनेको र त्यहाँका चित्रकलाबारे खोजी र अनुसन्धान हुनुपर्ने सुझाव दिइन् । पुनम आरएल राणाले नेपाली कला र कलाकारका बारेमा जानकारी लिनका लागि पुस्तक निकै उपयोगी रहेको धारणा व्यक्त गर्दै पहिले कपडामा कलाकृति बनेकामा अहिले कागजमा बनाउने चलन चलेको तथा पहिले कलाकृति पूजाका लागि बनाइने तर अहिले व्यापारका लागि बनाइने चलन चलेको जनाइन् ।

कलाकार तथा लेखक चित्रकारले नेपालमा ललितकला वाङ्मयको अभाव रहेको बताउँदै नेपाली कलालाई चिनाउने र यसका विभिन्न आयामलाई दस्तावेजीकरण गर्ने लक्ष्यका साथ पुस्तक प्रकाशन गरिएको जानकारी दिइन् ।

footwear zone

सिर्जना कलेज अफ फाइन आर्टसका अध्यक्ष महेनमोहन श्रेष्ठले आगामी दिनमा समेत कलेजले कलाका विभिन्न विषयमा कृति प्रकाशन गर्दै जाने जानकारी दिए । कलेजका भाइस प्रिन्सिपल नवीन्द्रमान राजभण्डारीले नेपालमा कला प्रकाशनको अभाव भइरहेका बेला प्रकाशनमा आएको पुस्तकले त्यसको पूर्ति गर्ने धारणा व्यक्त गरे ।

अङ्ग्रेजी भाषामा लेखिएको पुस्तकले नेपाली कलामा चलेका विविध शैली, आन्दोलन, विचार, परम्परा, कलाकार तथा तिनका कलाकृतिलाई बुझ्न सघाउँछ । पुस्तकमा नयाँ तथा पुराना पुस्ताका कलाकारका कलाकृति तथा तिनका बारेमा चर्चासमेत गरिएको छ ।

You might also like

Comments are closed.