सुरक्षित आप्रवासन परियोजनामार्फत चार करोड रुपैयाँ क्षतिपूर्ति

रवीन्द्र काफ्ले, पाँचथर । सुरक्षित आप्रवासन परियोजना (सामी) ले यहाँबाट वैदेशिक रोजगारीमा गई समस्यामा परेका १९ जनालाई रु चार करोड ३० लाख क्षतिपूर्ति उपलब्ध गराएको छ ।

वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका १२, बेपत्ता भएका एक, जेल परेका पाँच र ठगीमा परेका एक जनाका परिवारले उक्त क्षतिपूर्ति रकम प्राप्त गरेका हुन् । जिल्लामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको नेपाल जनउद्धार सङ्घका अनुसार यहाँ परियोजना लागू भएपश्चातका १५ महिनामा ४४ जनाले वैदेशिक रोजगारीका क्रममा अन्यायमा परेको भन्दै निवेदन दिएका थिए । त्यसमध्ये १९ जनाका परिवारले क्षतिपूर्ति पाएका तथा अन्यको मुद्दासमेत अगाडि बढिरहेको छ ।

परियोजना जिल्लाका फिदिम नगरपालिका, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा सञ्चालित छ । परियोजनाले वैदेशिक रोजगारीमा जान लागेकालाई मनोसामाजिक परामर्श दिने, वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई वित्तीय साक्षरताको पहुँचमा पु¥याउने, सूचना र न्यायको पहुँचमा उपलब्ध गराउने, सीप सिकेर वैदेशिक रोजगारीमा जान चाहनेलाई सोको व्यवस्थाका लागि सिफारिश गर्नेलगायत कार्य गर्दै आएको छ ।

footwear zone

चारवटै स्थानीय तहमा एक÷एक मनोसामाजिक परामर्शदाता तथा वित्तीय साक्षरता उपलब्ध गराउने कर्मचारी खटिएका छन् । यस्तै सुरक्षित वैदेशिक रोजगारीको सूचना र ज्ञान उपलब्ध गराउन सबै स्थानीय तहमा तीन÷तीन रिटर्नी (विदेशबाट फर्किएर गाउँमा बसेका) स्वयंसेवकसमेत परिचालनमा रहेको परियोजनाले जनाएको छ ।

सूचना र न्यायको पहुँचमा उपलब्ध गराउने कार्यक्रम भने समग्र जिल्लाभरि सञ्चालनमा रहेको परियोजना संयोजक क्षोमाया तामाङले जानकारी दिइन् । सूचना र न्यायको पहुँचमा पु¥याउने कार्य जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रले गर्दै छ । राहदानी बनाउन तथा बुझ्न जिल्ला प्रशासन कार्यालयमा आउनेलाई ठगीमा नपर्न, वैदेशिक रोजगारीका क्रममा गर्नुपर्ने कामबारे बुझेर मात्रै जान, सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जान, परिवारलाई वित्तीय व्यवस्थापनमा सक्षम बनाउन सुझाव दिने गरेको छ ।

परियोजना लागू भएयता आप्रवासी स्रोत केन्द्रबाट एक हजार ६५० जनाले सूचना र परामर्श सेवा पाएका छन् । गाउँ पुगेर परामर्शदाताले ४१ जनालाई व्यक्तिगत मनोसामाजिक परामर्श तथा ४१५ जनालाई सामूहिक मनोमासाजिक परामर्श उपलब्ध गराएको परियोजना संयोजक तामाङले जानकारी दिइन् । आप्रवासी स्रोत केन्द्रबाट सूचना र परामर्श सेवा दिइएकामध्ये ३०६ जनालाई पुनःसम्पर्क र सेवा दिइएको छ । त्यसमध्ये १५० जना वैदेशिक रोजगारीमा गएका छन् ।

सोमध्ये २२ जनाले आवश्यकीयमध्ये कुनै कागजात घरमै छाडेर गएका, २५ जनाले कागजात विदेशबाट मगाएका, आठ जनाले मोलमोलाइ गरी वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्च घटाएका, २० जनाले विदेश जाने सिलसिलामा राहदानी वा पैसा दिँदा भर्पाइ गराएका, नौ जनाले स्रोत केन्द्रबाट मुद्दा सिफारिस गराएका तथा ३३ जनालाई सीपमूलक तालिम लिनका लागि सिफारिश गरिएको परियोजनाले जनाएको छ । परियोजनामा हालसम्म रु ७१ लाख पाँच हजार ४७७ खर्च भइसकेको परियोजना संयोजक तामाङले बताइन् ।

परियोजना कार्यान्वयनका विषयमा हालै यहाँ आयोजित अन्तक्र्रियामा जिल्लामा क्रियाशील पत्रकारले परियोजनाको प्रभावकारितामा जोड दिएका थिए । वैदेशिक रोजगारीजन्य समस्यामा कमी नआएको भन्दै उनीहरुले त्यस्ता समस्या समाधान गर्न तथा विदेश जाने क्रममा ठगिनुपर्ने समस्या हल गर्न प्रयास गर्न आग्रह गरे । यस्तै वैदेशिक रोजगारीको बढ्दो क्रमले पारिवारिक तथा सामाजिकरूपमा समस्या बढिरहेको तथा सामाजिक संरचनामै खलल पुग्ने खतरा देखिएको उल्लेख गर्दै त्यसतर्फसमेत कार्यक्रम बनाई लागू गर्नुपर्ने पत्रकारहरुको सुझाव थियो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले ठूलो सङ्ख्यामा युवा पलायन हुँदा देशलाई घाटा लागिरहेको तथ्यलाई बुझेर वैदेशिक रोजगारीमा जान चाहनुको कारण वा बाध्यता पत्ता लगाउन, विदेशमा हुने मृत्युको कारण पत्ता लगाउन, विदेशबाट फर्कनेमा परिवर्तन भए÷नभएको खोज्न सबै पक्षले पहल गर्नुपर्ने बताए । श्रम सहचारीका रूपमा लामो समय विभिन्न मुलुकमा काम गरेका फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले वैदेशिक रोजगारीमा जानेमध्ये करिब १५ प्रतिशतले समस्या भोग्ने गरेको बताउँदै कामदारका समस्या हल गर्न पहल गरिनुपर्ने बताए ।

You might also like

Comments are closed.