काठमाडौं । जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले कोरोनाका कारण आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था रहेको बताएका छन् । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव रहेको बताउँदै उनले दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बस्न सबैलाई आग्रह गरेका छन् ।
‘जीवनको तुलनामा दुःख सानो हो,’ उनले भनेका छन् । कोरोना जोखिमलाई मध्यनजर गरी खाद्यान्नसमेत दैनिक नकिन्न उनले सुझाव दिएका छन् ।
‘पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी/स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं । भेटघाट बन्द गरौं,’ उनले भनेका छन् ।

यो ३ हप्ता दुःख सह्यौं भने संक्रमणको दर घट्दै जाने उनले बताएका छन् । ‘रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं । सरकारले कडाइ गरेको हाम्रै लागि हो । हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं ।’




Comments are closed.