रोगभन्दा भोकको पिरलो

ध्रुवसागर शर्मा, गलेश्वर ।

गण्डकी प्रदेशमै कोरोनाको ‘हटस्पट’ बन्दै गएको हिमाली जिल्ला म्याग्दीका कृषकहरु स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खेतीपातीको काममा व्यस्त छन् । जिल्लाका ग्रामीण क्षेत्रमा भुसको आगो झैँ कोरोना सङ्क्रमण फैलँदै गएको भए पनि काम नगरी नहुने बाध्यता भएकाले सुरक्षा सावधानी अपनाउँदै खेतीपातीको काममा व्यस्त हुनुपरेको किसानहरुले बताएका छन् ।

अहिले गाउँमा मकै गोड्ने, धानको बिउ राख्ने र खेतबारीमा मल राख्ने समय भएको छ । खेतीपातीको काम समयमा नै गर्नुपर्ने भएकोले मास्क लगाएर सकेसम्म भौतिक दूरी कायम गरी मकै गोड्न थालेको बेनी नगरपालिका–२ बगरफाँटकी सावित्रा शाहले बताईन् ।

footwear zone

दुःख नगरी खान नसकिने भएकाले सुरक्षित रहँदै खेतीपातीमा जुटेको कृषकहरुको भनाइ छ । रोगभन्दा भोक टार्न समस्या हुने भएकोले जोखिम भए पनि सकेसम्मको सावधानी अपनाएर काममा खटिनुपरेको अर्का कृषक टेकबहादुर कार्कीको भनाइरहेको छ ।

“रोगभन्दा ठूलो भोक रहेछ, परिवार र छोराछोरीको दुई छाक टार्नै भए पनि खेती गर्नुपर्छ, रोगसँग डराएर मात्र पनि त भएन नि !”, खबराका कृषक चन्द्रबहादुर कार्कीले भने, “गत वर्ष पनि खेती लगाउने बेलामै कोरोनाले दुःख दिएको थियो, यस वर्ष पनि यस्तै भयो, कोरोनासँग डराएर खेती नगर्ने हो भने त भोकभोकै मर्नुपर्ने दिन आउँछ ।”

शाह र कार्की मात्र होइन अहिले धेरै कृषकहरु खेतबारीमा व्यस्त छन । “के गर्नु मानो रोपेर मुरी फलाउने बेला हुँदैछ, कोरोना रोगभन्दा हामीलाई परिवारको पेट भर्ने चिन्ताले पिरोल्छ”, मङ्गला गाउँपालिका–३ का कृषक युमाकान्त सापकोटाले भने, “गाउँमा भनेजति खेतालो पनि पाइन्नन्, अर्मपर्म नगरी खेती लगाउनै सकिँदैन ।”

वर्षात्को खेती मौसम शुरु भएसँगै बजारबासीभन्दा गाउँका कृषकलाई बालीनाली लगाउन बढी चटारो छ । कोरोना महामारीको वास्तै नगरी धान, कोदोको बिउ राख्न र मकै गोड्न यहाँका कृषकहरु व्यस्त छन् ।

कृषिबाट जीविका चलाउने उनीहरूलाई यतिबेला खेतीपाती लगाउन फुर्सद छैन । केही अन्न जोहो नगरी बाँच्ने विकल्प नभएका किसान यतिबेला खेतबारीमा साँझ बिहानै व्यस्त बनेको मङ्गलाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

कोरोना भाइरसको दोस्रो लहर शुरु भएसँगै शहरबजार बस्नेहरू पनि धमाधम गाउँ फर्किएका छन् । खेतीपातीको मौसम शुरु भएकाले पनि गाउँ नै उत्तम विकल्प भएको उनीहरू बताउँछन । शहरभन्दा पनि गाउँघर नै सुरक्षित र उत्तम विकल्प भएको धौलागिरि गाउँपालिका–३ मुनाका पुर्म पुनले बताए । “कोरोनाले नानीहरूको स्कुल बिदा भयो, यो महामारीमा त गाउँमै काम गर्नु र समय कटाउनु आराम छ, त्यसैले शहरबाट गाउँमा फर्किएका व्यक्तिहरु पनि अहिले खेतीपातीको काममा व्यस्त भएका हुन्”, धौलागिरि–३ मुनाका वडाअध्यक्षसमेत रहेका पुनले भने ।

खेतीयोग्य जमिनमा वृद्धि, पर्याप्त सिँचाई तथा रोग र किराको प्रकोपमा हटेपछि गत वर्ष म्याग्दीमा धान उत्पादन बढेको थियो । दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमिन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । एक लाख १३ हजार ६४१ जनसङ्ख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसङ्ख्या पूर्णरुरूामा कृषिमा आश्रित रहेको भए पनि उनीहरुले व्यावसायिकरूपमा उत्पादन गर्न सकेका छैनन् । सात प्रतिशत जनता व्यावसायिकरूपमा नै कृषि पेसा अँगालेर मनग्गै कमाइ गर्न सफल भएका छन् ।

You might also like

Comments are closed.