भिष्मको नेतृत्वमा महामारीमा मन फुकाएर सहयोग

पोखरा । पोखराका पर्यटन व्यवसायी तथा समाजसेवी भिष्मराज पौडेल कोरोना महामारीको समयमा समाजसेवामा अग्रणी बनेर प्रस्तुत भएका छन् । कोभिड महामारीको पहिलो चरणदेखि अहिले दोस्रो चरणसम्म उनी सामाजिक सेवामा निरन्तर लागिरहेका छन् । आफू अध्यक्ष तथा संस्थापक रहेको संस्था नमस्ते सामुदायिक प्रतिष्ठानमार्फत उनले यतिबेला मन फुकाएर सामाजिक क्षेत्रमा काम गरेका छन् ।

लेखनाथमा बन्न लागेको कोभिड हस्पिटललाई पौडेलको पहलमा ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । नेदरलेण्डस्थित आफ्नो दातृ निकायको सहकार्यमा उक्त अस्पताललाई करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको हो । उक्त रकम मध्ये १० लाख रुपैयाँ बिहीबार नै उनले हस्तान्तरण गरिसकेका छन् । हस्पिटलका लागि बेड तथा अक्सिजन मेसिन खरिदका लागि उनले रकम सहयोग गरेका हुन् । बाँकी रकम हस्पिटलको आवश्यकता अनुसार सहयोग गर्ने उनले बताए । पोखरा महानगर र लायन्सको सहकार्यमा केही दिनभित्रै कोभिड डेडिकेटेड हस्पिटल सञ्चालनमा आउँदैछ ।

footwear zone

‘अक्सिजन मेसिन सहितको कोभिड केयर बेडको अभावको कारणले धेरै संक्रमितको ज्यान जाने अवस्था सिर्जना भएको छ,’ पौडेलले भने, ‘यो विषम परिस्थितिमा सञ्चालनमा आउन लागेको हस्पिटललाई सहयोग गर्न पाउँदा खुसी छौं । हस्पिटलले धेरैको ज्यान बचाउने हामीले विश्वास लिएका छौं ।’

कोरोना महामारीको समयमा संस्थाले अन्य ठाउँमा पनि सहयोगलाई निरन्तरता दिदै आइरहेको छ । अन्नपूर्ण गाउँपालिकामा सञ्चालन गर्न लागिएको एम्बुलेन्सको ड्राइभरको सुरक्षार्थ पिपिई सेट, पन्जा, मास्क, सेनिटाइजर, स्प्रे लगायतका सामग्रीहरु गण्डकी प्रदेश सांसद राजीव पहारीको उपस्थितिमा हस्तान्तरण गरिएको पौडेलले जानकारी दिए । पोखरा वडा नं २१ कृष्तिमा रहेको कुल ५० परिवारलाई कोरोना पीडितहरुको लागि सामान्य औषधीहरु, पन्जा, मास्क, सेनिटाइजर, अक्सिमिटर, थर्ममिटर लगायतका सामाथ संस्थाले सहयोग गरेको छ ।

लेखनाथ मोहरियाटोलस्थित संक्रमिक तथा सरुवा रोग अस्पतालमा कोरोनाको उपचार गराइरहेका कुल ६५ जना विरामी तथा कुरुवाहरुलाई जेठ १० देखि ४ दिनसम्म दैनिक २ छाक खाना र २ छाक खाजा खुलाउने घोषणासमेत संस्थाले गरिसकेको छ ।

नमस्ते सामुदायिक प्रतिष्ठानले विगत १८ वर्षदेखि बालगृह, छात्रबृत्ति, महिला सशक्तीकरण, विद्यालय विकास लगायत विविध परियोजनाहरुमा काम गर्दै आइरहेको छ । असहाय बालबालिका तथा एकल महिलाहरुको क्षेत्रमा काम गर्दै आइरहेको संस्थाले प्राकृतिक विपत्ती तथा महामारीको समयमा अग्रस्थानमा रहेर राज्यलाई सहयोग गर्दै आइरहेको छ । भूकम्प, बाढिपहिरो, आपतकालीन सेवाहरुका साथै संस्थाले खानेपानी, विद्यालय खेलकुद विकास, पुस्तकालय निर्माण, सरसफाई, औषधी उपचार लगायत क्षेत्रमा काम गर्दै आइरहेको छ ।

कोभिड महामारीको पहिलो लहरमा कोभिड संक्रमण हुँदा करिब ५ सय परिवारलाई खाद्य सामग्रीहरु संस्थाले वितरण गरेको थियो । मुख्यमन्त्री कार्यालय मार्फत स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट तथा मास्क वितरण, पोखरा वडा नं ६ कार्यालयलार्ई मास्क तथा सेनिटाइजर र स्टेण्ड वितरण, बृद्धाश्रममा रासन तथा पछ्यौरा वितरण, एकल महिलाहरुलाई रासन सहित फलफुलका विरुवा वितरण, आँखा नदेख्ने विद्यार्थीलाई अध्ययन सामग्री वितरण, घाचोकस्थित सरकारी विद्यालय तथा प्रहरी चौकीमा मास्क तथा सेनिटाइजर वितरण लगायत संस्थाले विविधि सहयोग गरेको थियो ।

नमस्ते सामुदायिक प्रतिष्ठानका अध्यक्ष पौडेल बिगत २७ वर्षदेखि सामाजिक संस्थामार्फत सामाजिक सेवामा सक्रिय छन् । सन् २००८ बाट लायन्स क्लब अफ पोखरा तालबाराही तथा २००७ देखि चिल्ली बार एण्ड रेष्टुरेन्ट तथा पर्यटन व्यवसायमा आवद्ध रहेका पौडेल रेवान पोखराका महासचिव समेत हुन् । सहयोग अभियानमा सफल बनाउन निरन्तर सक्रिय हुने कार्यसमिति, सहयोगी दातृ निकाय लगायत सम्पूर्णप्रति अध्यक्ष पौडेलले आभार व्यक्त गरेका छन् । ‘यो महामारीको छिट्टै अन्त्य भइ सहज परिस्थिति सिर्जना हुनेछ भन्नेमा हामी विश्वस्त छौं,’ पौडेलले भने ।

You might also like

Comments are closed.