ट्याङ्कर चालकलाई खोपको व्यवस्था गर्न माग

काठमाडौं ।

कोरोना सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ । सङ्घले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।

सङ्घले दोस्रो लहरको सङ्क्रमणका कारण ट्याङ्कर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थकोे ढुवानी नगर्ने बताएका हुन् ।

footwear zone

सङ्घका अध्यक्ष ईश्वर लामाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र पठाउँदै थप सेवा प्रवाह गर्न असमर्थ रहेको भन्दै खोपको विशेष व्यवस्था गरी कार्यसञ्चालन गराउन आग्रह गरेका छन् ।

सङ्घले दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाउँदै सङ्घले निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खोपको माग गरेको थियो । तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदासमेत बेवास्ता भएको भन्दै सङ्घले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको हो ।

यसअघि, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको थियो ।

सङ्घले अत्यावश्यक सेवालाई पुनः सञ्चालन गर्न अग्रपङ्क्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवसायीले खोप नपाएको जनाउँदै उपलब्ध गराउन आग्रह गरेको हो ।

You might also like

Comments are closed.