कृष्ण न्यौपाने/दमौली । रात पर्दै थियो, काम सकियो होला भनी लक्ष्मीभक्त खनाल घर पुगेर मात्र के बसेका थिए, मोवाइलमा घण्टी बज्यो । मोवाइलमा सुनियो, “सुवास परियार सानो बच्चाको हात भाँचियो, रोइरहेको छ । दमौली आउन त जेसीजको गाडी छ रे, अस्पतालमा तिर्न पैसा पनि छैन । भोलि बिहान लिन आउन मिल्छ होला ? रातभरिमा पैसा व्यवस्था गरौंला ।”
उताबाट विलौना सुनेपछि खनालले जवाफ फर्काए, “पैसा खोज्दै गरौला तपाई कुन ठाउँमा हुनुहुन्छ ? त्यही बस्नु एक घण्टामा हामी आइपुग्छौ ।” लगत्तै खनाल सवारी साधन लिएर गजौडे पुगे र बच्चालाई उद्धार गरेर अस्पताल ल्याए ।
दमौली अस्पताल पु¥याइएका ती बालकको एक्सरे गर्नपर्ने भयो, तर अस्पतालमा एक्सरे नभएको जानकारी पाएपछि निजी अस्पतालमा एक्सरे गराएर पुनः दमौली अस्पताल पु¥याइयो । ती बालकलाई हातमा प्लाष्टर गरेपछि पुनः घर छाडियो ।

यो त एक उदाहरण मात्र हो । जेसीआई व्यास नगरका अध्यक्ष खनाललाई दैनिकजसो यस्ता फोनहरु आइरहन्छ । निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न वर्गलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउने घोषणा गरेको जेसीआई व्यास नगरले यातायात सेवा सञ्चालन गरेको आज १७ दिन पुगेको छ ।
यसबीचमा क्लवले दमौली आसपासका एक सय भन्दा बढी विपन्नलाई सेवा दिएको छ । खनालका अनुसार दमौलीबाट पाँच किमिभन्दा टाढा दूरीका ६० जनालाई यातायात सेवा दिइएको छ । दैनिक पाँच भन्दा बढीले निःशुल्क यातायात सेवा लिइरहेका छन् ।
“यस कामका लागि दैनिक १८ घण्टा खटिएका छौ, बिहान पाँच बजेदेखि रातिको ११ बजेसम्म यही काममै सक्रिय हुन्छौ,” खनालले भने । उनका अनुसार क्लवका सदस्यहरुलाई पनि यस कामका लागि जिम्मेवारी दिइएको छ । “कुनै दिन एउटा साथीले नभ्याएको खण्डमा अर्को साथीलाई पालो अनुसार जिम्मेवारी दिएका छौ,” खनालले भने ।
निःशुल्क यातायात सेवा सञ्चालन गरिएपनि सवारी साधनको भाडा भने क्लवले तिर्ने गरेको छ । यसका लागि दैनिक पाँच हजार खर्च हुने गरेको छ । “क्लवकै सदस्य तथा शुभेच्छुकबाट रकम सङ्कलन गरेर यातायात खर्च व्यवस्थापन मिलाएका छौ, यसका लागि नगरपालिकाको तर्फबाट पनि दुई सय लिटर तेल प्राप्त भएको छ,” खनालले भने ।
कसरी शुरु भयो यो अभियान ?
अघिल्लो पटकको निषेधाज्ञाका क्रममा एक जना व्यक्ति सवारी नपाएर दमौलीसम्म आउन नपाएको खबर सार्वजनिक भयो । त्यो खबर सुनेसँगै खनालको मनमा छोयो । “मेरो गाडी भएको भए त म निःशुल्क सेवा दिन्थे भन्ने मनमा खेलिरहेको थियो, तर मसँग गाडी थिएन,” उनले भने, “यस पटकको निषेधाज्ञामा भने संस्थाको तर्फबाट विपन्नलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउँछु भन्ने अठोट लिएँ ।”
खनालले क्लवका सदस्यहरुसँग यस विषयमा सल्लाह गरे । सल्लाह गरेको एक घण्टाभित्रै जेसीआईका तर्फबाट निषेधाज्ञा अवधिभर निःशुल्क यातायात उपलब्ध गराउने सहमति बन्यो । “निषेधाज्ञामा सवारी नचलेपछि विपन्न वर्गलाई रिजर्भ गरेर गाडी खोज्नुपर्ने बाध्यताको अन्त्यका लागि अभियान शुरु भयो, सङ्कटको बेला संस्थाको पनि उत्तरदायित्वको कुरा आउँछ,” उनले भने, “सामाजिक उत्तरदायित्व वहन गर्दै शुरु भएको अभियान हो ।”
यो अभियानमा क्लवका सदस्य अनुप दाहालले सवारी उपलब्ध गराएका छन् । “अभियान त शुरु भयो तर यसको प्रभावकारिता कस्तो हुन्छ भन्ने लागेको थियो, तर अभियानबारे प्रचार भएपछि गाउँ गाउँबाट फोन आउन थाल्यो,” खनालले भने, “सेवा प्रभावकारी भएपछि एकदमै खुशी लागेको छ ।”
जेसीजले अभियानमार्फत् सुत्केरी, गर्भवती, मिर्गौला पीडित, दम लगायतका बिरामीलाई सेवा दिएको छ । क्लवले जेठ ३१ गते सोमबारसम्म यो अभियान जारी राख्नेछ । ३१ गतेपछि निषेधाज्ञा पनि खुकुलो बनाउने तयारी भएकाले त्यसपछि यो अभियानलाई स्थगित गरिनेछ । “अब परिस्थिति सहज हुने भएकाले यो कामलाई स्थगित गरेर नयाँ केही काम गर्ने योजना बनाएका छौ,” खनालले भने । रासस




Comments are closed.