कारमा ४ जना चढ्न मिल्ने, ट्याक्सीमा २ जना हिड्न नमिल्ने ?

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले असार ८ गतेबाट लकडाउनलाई खुकुलो बनाउने निर्णय गर्यो । यसैक्रममा जोर बिजोर प्रणालीमा निजी सवारीसमेत सञ्चालन गर्न दिइएको छ । निजी चारपाँङग्रे सवारीमा ४ जनासम्म बस्न सकिने व्यवस्था गरिएको छ । निजी सवारी सञ्चालन गर्न दिदा ट्याक्सीमा भने रोक लगाइएको छ ।

राज्यलाई अप्ठ्यारो अवस्था सिर्जना हुँदा एम्बुलेन्सको रुपमा समेत काम गरेका ट्याक्सी व्यवसायीलाई राज्यले विभेद गरेको बताउँछन् पोखरेली ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष प्रकाशमणि तिवारी । ‘निजी सवारीमा ४ जनासम्म चढ्न मिल्ने गरी सञ्चालन गर्न दिइएको छ,’ उनले भने, ‘ट्याक्सीमा १/२ जना यात्रु चढेर आफ्नो गन्तव्यमा जाँदा राज्यलाई के समस्या भयो ?’

सबैसँग निजी सवारी साधन नहुने भएकाले अत्यावश्यक काममा हिडेका यात्रुले ट्याक्सीमा चढेर गन्तव्यमा पुग्न पाउनुपर्ने तिवारीको माग छ । ट्याक्सी व्यवसायीसहित सम्पूर्ण यातायात व्यवसायीहरु राज्यको नीतिका कारण मारमा परेको तिवारीले बताए । ‘अन्य सवारी साधन सञ्चालन हुँदा सार्वजनिक यातायातलाई पनि सञ्चालन गर्न दिइनुपर्छ,’ उनले भने ।

footwear zone

पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि हुँदासमेत भाडा समायोजन नहुनु दुःखद पक्ष रहेको तिवारीले बताए । ‘भाडा समायोजनतर्फ राज्यको चासो नै छैन,’ उनले भने । गाडीको आयु सरकारले २० वर्ष तोकेका छ । लकडाउनको समयलाई शून्य समय मानेर गाडीको आयु बृद्धि गर्नुपर्ने तिवारीको माग छ ।

कास्कीमा पछिल्लो पटक १४ गतेसम्म निशेधाज्ञा थप गरिएको छ । १४ गतेपछि पनि सवारी साधन सञ्चालन गर्न रोक लगाइए स्वतस्फूर्त रुपमा सवारी साधन सञ्चालन गर्नुपर्ने अवस्था आउने उनले बताए । ‘व्यवसायीको समस्या राज्यले बुझ्नुपर्छ,’ तिवारीले भने, ‘यातायात व्यवसायी पनि यो देशका जनता हुन् ।’

You might also like

Comments are closed.