दयाराम आचार्य, कावासोती । नवलपरासीको (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित त्रिवेणी धाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरि नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुल चाडैँ सम्पन्न हुने भएको छ ।
हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको त्रिवेणी धाम र वाल्मीकि आश्रम जोड्ने गरी ६ वर्ष अघिदेखि नारायणी नदीमा झोलुङ्गे पुल निर्माणको पहल भएको भएपनि विभिन्न अवरोधका कारण सो कार्यले गति लिन सकेको थिएन । निकुञ्ज क्षेत्रमा पर्ने भएकाले पुल निर्माणको प्रक्रिया शुरु गर्न नै लामो समय लागेको थियो । अब भने चाडै नै नेपालका दुई महत्वपूर्ण धार्मिक क्षेत्र त्रिवेणी धाम र वाल्मिकी आश्रम झोलुङ्गे पुलमार्फत जोडिने भएका छन् ।
पुलको अभावमा वाल्मीकि आश्रम पुग्नका लागि हिउँदमा डुङ्गा र वर्षामा भारतले बनाएको बाँधबाट भारतीय बाटो हुँदै पुग्नुपर्ने बाध्यता रहँदै आएको छ । चितवनबाट सडक सञ्जालले जोड्न नसकिएको हुँदा सो आश्रम पुग्नका लागि पूर्वी नवलपरासीको त्रिवेणी हुँदै भारतीय बाटो प्रयोग गरेर पुग्नुपर्ने बाध्यता छ । तर अब झोलुङ्गे पुल निर्माण भएपछि सहज रुपमा नेपाली भूमिहँुदै नै वाल्मीकि आश्रम पुग्न सकिने छ । त्रिवेणी र वाल्मीकि आश्रम जोड्ने गरि निर्माणको क्रममा रहेको झोलुङ्गे पुलका लागि नारायणी नदी वारीपारी लठ्ठा तान्ने टावर निर्माण (वेस) को काम सम्पन्न भएको छ । अब लठठ तान्ने काम मात्रै बाँकी रहेको पुलका निर्माणमा लागेका सब कन्टर्याक्टर ताराप्रसाद पौडेले जानकारी दिए ।

उनका लठठ उपलब्ध गराउने जिम्मेवारी सरकारको भएकाले केही ढिलाई भएको छ । १५ दिन अघि मात्रै लठ्ठा उपलब्ध भएको उनले बताए । चैत महिनामै लठठ उपलब्ध भएको भए यतिबेला सम्म काम सम्पन्न भइसक्नुपर्ने थियो । पुल निर्माण सम्पन्न गर्ने पछिल्लो सम्झौता जेठ मसान्तसम्म रहेको थियो । वर्षा रोकिएर काम नियमित हुन पाएमा साउन महिनाभित्र पुलको काम सकेर हस्तान्तरण गर्ने योजना रहेको पौडेलको भनाइ छ । झोलुङ्गे पुलको लम्बाई करिब ५३५ मिटर रहेको बताइएको छ । रुबिना–मना जेबि कन्ट्रक्सनले करिब रु ६ करोडको लागतमा सो झोलुङ्गे पुलको निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको र सोही अनुसार काम भइरहेको छ ।
नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश मल्लसहितको टोलीले पुलको कामको निरीक्षणसमेत गरेका छन् । नेपाल सरकार र राष्ट्रपति कार्यालयले समेत निकै महत्वका साथ हेरेको यस पुलको कामलाई जतिसक्दो छिटो पूरा गर्न ताकेताका लागि स्थानीय प्रशासनको टोली केही दिन अघि मात्र त्रिवेणी धाम पुगेको थियो । प्रमुख जिल्ला अधिकारी पंगेनीले भने, “राष्ट्रपति ज्यूले समेत निकै चासो दिनुभएको छ, वाल्मीकी आश्रम भारतको बाटो होइन, झोलुङ्गे पुल तरेर नेपालकै बाटो भएर जाने हो भनेका छन् । त्यसैले हामीले यो पुल निर्माणको काम छिटोभन्दा छिटो गर्न सम्पन्न गर्न तोकता गरेका हौँ ।”
नदी तारेर लठठ पारी लैजान काठको डुङ्गाबाट नसकिने हुँदा मोटरबोटको प्रयोग गरेर लैजानुपर्ने भएको प्रजिअ पंगेनीले बताए । काममा ढिलाई नहोस् भन्नका लागि समन्वय गरिएको उनको भनाइ छ । भारतीय गण्डक नहर हेर्ने निकायसंग समन्वय गरेर मोटरबोटमार्फत् लठठ पारी लैजाने कुरा भएको उनले बताए । भारतीय निकायले पनि मोटरबोट सहयोग गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।




Comments are closed.