वालिङ नगरपालिकाको बजेट ७८ करोड रुपैयाँ

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाको बुधबार सम्पन्न दशौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु ७८ करोड १४ लाख ७६ हजारको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना तिवारीले नगरसभामा प्रस्तुत गरेको बजेट तथा कार्यक्रम पारित भएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ रु ६ करोड ५५ लाख ३० हजार, सङ्घीय सरकार राजस्व बाँडफाँडबाट रु १० करोड २९ लाख ८८ हजार, वित्तीय समानीकरण अनुदानबाट रु १६ करोड ३९ लाख, सःशर्त अनुदानतर्फ रु ३९ करोड ६२ लाख, सङ्घीय सरकारको विशेष अनुदान रु एक करोड ६६ लाख, सडक बोर्ड नेपालबाट रु ४७ लाख गरी कूल रु ७४ करोड ९९ लाख १८ हजार अनुमानित बजेट प्रस्तुत भएको हो । त्यस्तै गण्डकी प्रदेश सरकारतर्फको राजस्व बाँडफाँडबाट रु एक करोड १६ लाख ९० हजार, प्रदेश सरकार समानीकरण अनुदानबाट रु एक करोड ९८ लाख ६८ हजार गरी कूल रु तीन करोड १५ लाख ५५ हजार ८०० को अनुमानित बजेट पारित भएको हो ।

शिक्षा, स्वास्थ्य, कृषि, पशुसमेतमा चालुतर्फ रु ३९ करोड ८६ लाख ९९ हजार २०० र पूँजीगततर्फ रु ३८ करोड २७ लाख ७६ हजार ८०० खर्च हुने अनुमानित बजेट सार्वजनिक गरिएको छ ।

footwear zone

कूल बजेटमा चालुतर्फ ५१.१५ प्रतिशत र पूँजीगततर्फ ४९.८५ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेटका उद्देश्य तथा प्राथमिकतामा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका सबै उपाय अवलम्बन गरी जनजीवनलाई सुरक्षित र सहज बनाउने, सीप विकास, आय आर्जन, रोजगारी सिर्जना तथा स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी विकास कार्यलाई तीव्रता दिने उल्लेख गरिएको छ ।

त्यस्तै आर्थिक, सामाजिक, भौतिक पूर्वाधार तथा सुशासन सबै क्षेत्रको एकीकृत विकासमार्फत नगरको समृद्धि हासिल गर्ने, सामाजिक सुरक्षा तथा संरक्षण कार्यको विस्तार गरी लोककल्याणकारी भूमिकाको प्रवद्र्धन गर्ने, तहगत सरकार एवं विकास साझेदारसँग सहकार्य तथा समन्वय गरी आर्थिक एवं सामाजिक उपलब्धी हासिल गर्ने उद्देश्य पूरा गर्न बजेटमा समेटिएको उपप्रमुख तिवारीले बताइन् ।

आगामी आवका लागि सङ्घीय सरकारबाट हालसम्म समपूरक अनुदान प्राप्त नभएकाले नगरपालिकाको आन्तरिक खर्चमा थप व्ययभार पर्न गएको छ । यसअन्तर्गत सञ्चालित बहुवर्षीय तथा क्रमागत योजना तथा कार्यक्रममा बजेट विनियोजन हुँदा आन्तरिक व्ययभार बढ्ने देखिएको उपप्रमुख तिवारीको भनाइ छ ।

त्यस्तै आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न सङ्घीय सरकार, प्रदेश सरकार र अन्तर पालिकाका साथै छिमेकी स्थानीय तहसँगको सम्बन्ध बलियो बनाउने भनिएको छ । आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट प्राप्त समानीकरण अनुदानको स्रोतबाट नगरका १४ वटा वडालाई रु पाँच ५ करोड ६५ लाख विनियोजन गरिएको छ । सोमध्ये आर्थिक विकासतर्फ १७.७७ प्रतिशत, सामाजिक विकासतर्फ २१.०४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५२.०४ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रतर्फ ९.१५ प्रतिशत रहेको छ ।

नगरस्तरीय कार्यक्रमतर्फ क्षेत्रगतरूपमा आर्थिक क्षेत्रतर्फ ७.७३ प्रतिशत, सामाजिक विकासतर्फ ४७.६० प्रतिशत, पूर्वाधार विकासतर्फ २४.२२ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ५.७७ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४.६७ प्रतिशत रहेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा वालिङ नगरपालिकाको कूल आय रु ८० करोड ९२ लाख रहेकामा जेठ महिनाको मसान्तसम्ममा ४६ करोड २६ लाख खर्च प्रगति भएको उपप्रमुख तिवारीले बताइन् । सोमध्ये आर्थिक विकास क्षेत्रमा ३० प्रतिशत, सामाजिक विकास क्षेत्रमा ५७ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा ४० प्रतिशत र सुशासन क्षेत्रमा ३० प्रतिशत खर्च भार रहेको छ ।

यसअघि नगरप्रमुख दिलीपप्रताप खाँणले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि दफाबार छलफल गरिएको थियो । नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, अहिलेको विषम परिस्थितिमा कोभिड–१९ विरुद्ध लाग्नका लागि स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारीसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाई नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहेको नगरप्रमुख खाँणले बताए ।

बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न सङ्घीय र प्रदेश सरकारसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल, सङ्घसंस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने नगर प्रमुख खाँणले बताए ।

You might also like

Comments are closed.