सोलुखुम्बु । सदरमुकाम सल्लेरी क्षेत्रको सुन्दरतामा ध्यानदिनुपर्ने स्थानीयवासीले बताएका छन् । बजार क्षेत्रमा निस्कने फोहर महिनौं दिनसम्म बीच सडकमै थुपार्दा दुर्गन्ध फैलिएको छ भने अव्यवस्थितरुपमा टाँगिएका तार, पाइप तथा पोलका कारण यस क्षेत्रको सौन्दर्यतामा असर परिरहेको छ ।
बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएसँगै सङ्क्रमणको त्रास बढेको नयाँबजारका स्थानीयवासी राजीव कायस्थले बताए । यस बारेमा नगरपालिकामा पटकपटक जानकारी गराउँदा समेत कुनै पहल नभएको अर्का स्थानीयवासी मीनकुमार श्रेष्ठले बताए । फोहोर नउठ्दा नाक, मुख थुनेर हिंड्न बाध्य हुनु परेको भएको उनको भनाइ छ । गर्मी समय भएकाले कुहिने फोहोरका कारण बजार क्षेत्र दुगन्धित बनेको छ ।
विगतका दिनमा नगरपालिकाले गाडीबाट बजार क्षेत्रमा जम्मा हुने फोहर सङ्कलन गरी व्यवस्थापन गर्ने गरेको भएपनि लामो समयदेखि सो कार्य रोकिएको स्थानीयवासीको भनाइ छ ।

यससम्बन्धी गुनासो आएकाले तत्काल फोहोर व्यवस्थापन गरिने नगरपालिकाकी महिला कार्यकर्ता मुना खत्रीले बताइन् । चालक र सरसफाइकर्मीमा कोरोना सङ्क्रमण देखिएका कारण लामो समयसम्म फोहोर उठन नसकेको बताउँदै उनले छिटै समस्या समाधान हुने छ भनिन् ।




Comments are closed.