बाढीपीडितका लागि घर निर्माण हुँदै

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिकाका बाढीपीडितका घर निर्माण धमाधम भइरहेका छन् । विसं २०७७ असारको अविरल वर्षापछि गएको बाढीपहिरोले घर भत्काएपछि विस्थापित भएका नरहरिनाथ गाउँपालिका–६ र ७ का ५० घर निर्माण हुन लागेका हुन् ।

स्थानीय सरकारसँगको समन्वयमा प्रदेश सरकारको बजेटमा वडा नं ६ र ७ माल्कोट, रुप्सा, भाडगाउँ र खाती रुप्साका ५० घर सुगरखालमा स्थान्तरण गर्न लागिएको हो । सुगरखालमा नयाँ बस्तीको निर्माणको काम धमाधम भइरहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले जानकारी दिए । प्रदेश सरकारको रु एक करोड ७० लाखमा ती घर निर्माण हुने भएका छन् । “बाढीपहिराबाट गाउँपालिका–६ र ७ वडाका १८५ घरधुरी विस्थापित भएका थिए ।” उनले भने, “पहिलो चरणमा ५० घरधुरी बस्ती सारेर नयाँ घर निर्माण भइरहेको छ । आगामी आर्थिक वर्षमा बाँकी घर निर्माण हुनेछन् ।”

एकीकृत नमूना बस्तीका रूपमा विद्यालय, खानेपानीलगायत पूर्वाधारका संरचना पनि निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष बिष्टले बताए । “नयाँ बस्तीमा दुई विद्यालय मर्ज गरेर एउटै विद्यालय निर्माण गरेका छौँ”, उनले भने, “विद्युत पोल गाडिएको छ । विद्युत् पु¥याउनका लागि अहिले प्रक्रिया अगाडि बढाइएको छ ।”

footwear zone

नयाँ बन्न लागेको बस्तीमा खानेपानीको काम भइरहेको र ‘एक घर, एक धारा’को अवधारणामा खानेपानी पु¥याइने अध्यक्ष बिष्टले जानकारी दिए । “रु २५ लाखमा खानेपानी धारा निर्माण भएका छन् । रेडक्रसको रु २० लाख, गाउँपालिकाको रु पाँच लाख लगानी छ ।”

प्रतिघर निर्माणका लागि रु पाँच लाख ४० हजार खर्च लाग्ने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । “एउटै मोडेलका चारकोठे घरहरू निर्माण हुँदैछन्”, उनले भनिन्, “बस्तीमा विद्युत्, खानेपानी लगायतका अन्य संरचना निर्माण हुनेछन् ।”

प्रदेश सरकारले बस्ती निर्माणका लागि उपलब्ध गराएको रु एक करोड ७० लाख अनुदानबाट घर निर्माण भइरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताइन् । गत साल गएको बाढीपहिराका कारणले नरहरिनाथ गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २०६ घरपरिवार विस्थापित भएका थिए ।

You might also like

Comments are closed.