थारू टोलका भलमन्सा र पहाडी टोलका मुखियासँगसँगै

प्रकाश मिश्र/धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका स्थानीय तहका एक जनप्रतिनिधिले आफ्ना वडाका फरक फरक समुदायको समान सहभागिता रहोस् भनी नयाँ अभ्यास गरेपछि अहिले उक्त कार्यले चर्चा पाएको छ ।

नगरपालिका–११ का वडाअध्यक्ष दानसिंह जोगीले आफ्नो वडाका बहुसङ्ख्यक थारू र कम सङख्याका पहाडी समुदायको वडाका हरेक विकासे गतिविधि तथा नीति निर्माणमा समान सहभागिता होस् भनेर थारू टोलका भलमन्सा जस्तै पहाडी टोलमा मुखिया बनाएर काम कारबाही गरेपछि अहिले वडाका हरेक गतिविधिमा भलमन्सा र मुखियाहरूको समान सहभागिता भएको छ । वडाध्यक्ष जोगीले थारूका परम्परा जस्तै पहाडी समुदायको बसोबासको टोलमा मुखियाको अभ्यास शुरु गरेपछि अहिले वडाका हरेक छलफल र विकासे गतिविधिमा भलमन्सा र मुखियासँगसँगै मिलेर काम गर्न थालेको स्थानीयवासी राजकुमार चौधरी बताउछन् । गाउँघरमा स्थानीय सरकार गठन भएर स्थानीय तहले नै सानातिना विवाद सुल्झाउने जिम्मा पाइसके पनि अधिकांश मुद्दाहरु केही समयपहिले भलमन्साकै सहयोगले समाधान हुने गरेकामा अहिले भने वडाअन्तर्गत बनाइएका मुखियाहरूको समेत सहयोगमा समाधान हुन थालेको चौधरी बताउछन् ।

थारू समुदायमा केही घटना भइहाले सकेसम्म प्रहरी चौकी नजाने र गाउँघरमै समस्या समाधान गर्ने पुरानो चलन रहेको बताउँदै वडाध्यक्ष जोगीले अहिले भने चौकीमा जाने तर त्यहाँ भलमन्सा र मुखियाको उपस्थितिमा छलफल गरी समस्या समाधान गर्ने एक किसिमको नयाँ अभ्यास शुरु आफूले गरेको बताए । अध्यक्ष जोगीले वडाभित्रै फरक फरक समुदायको बसोबास रहँदा कहिलेकाहीँ द्वन्द्व भए पनि भलमन्सा र मुखिया बसेर त्यस्ता द्वन्द्व समाधान गर्ने हुँदा दुई समुदायबीचको द्वन्द्व कम भएको भन्दै खुशी व्यक्त गरे ।

footwear zone

वडाका दुई पहाडी टोल भलवामा नरे रावत र वसन्तपुरमा कृष्णदत्त भट्ट दुईजनालाई मुखिया बनाएर काम कारबाही अघि बढाएपछि थारू समुदायको अध्यक्षले आफूहरूलाई फरक व्यवहार गरेको रैनछ भन्ने कुरामा आभास जनतालाई भएकामा आफू निकै खुशी भएको अध्यक्ष जोगी बताउछन् ।

थारू समुदायको बाहुल्य रहेको आफ्नो वडामा जननिर्वाचित अध्यक्षले एक्कासि प्रस्ताव राखेर समान सहभागिताका लागि आफूहरूको टोलबाट मुखियाहरू बनाएर कामकारबाही अघि बढाएकामा निकै खुशी लागेको भलवाका मुखिया नरे रावतले बताए । नयाँ अभ्यासले वैमन्यस्यता हटाएको रावतको भनाइ छ ।

आफूहरूको समुदायमा भलमन्साको परम्परा रहे पनि पहाडी समुदायमा त्यस किसिमको अभ्यास नहुँदा दुई समुदायबीच केही समस्या आए समाधानका लागि असहजता हुने गरेकामा अहिले त्यस किसिमको समस्या हटेको आम्वासाका भलमन्सा खुशीराम चौधरी बताउछन् । अहिले गाउँमा केही समस्या आइहाल्यो भने वडाध्यक्षले हामी भलमन्सा र मुखियाहरूलाई बोलाएर कसरी अघि बढ्ने त भनी सल्लाह गर्ने र समाधानको उपाय निकालेर अघि बढ्ने सामाजिक नियम जस्तै रहेको र वडाका जनप्रतिनिधिहरुले पनि मुखिया र भलमन्साको राय सुझाव विना प्रायः काम नगर्ने गरेको भलमन्सा चौधरीको भनाइ छ ।
रासस

You might also like

Comments are closed.