केरा खेतीबाटै मनग्य आम्दानी

राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर । बेलौरी नगरपालिका—८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित छन् । डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आएका छन् । जिल्लामै सबैभन्दा बढी जग्गामा केरा खेती गरी आम्दानी गर्नेमा उनि एक्लो किसानमा पर्छन् ।

शुरुमा एक विघा जग्गामा केरा खेती गर्दै आउनुभएका रानाले हाल १७ विघा जग्गामा केरा खेती गरेका छन् । यसमा उनले बैंकबाट ऋण लिई रु ६० लाख लगानी गरेका छन्। भाडामा लिएको जग्गावापत वार्षिक रुपमा रानाले रु २० लाख भाडा नै तिर्दै आएका छन् ।

गत वर्ष चार विघा जग्गामा केरा खेती गर्नुभएका रानाले रु २० लाखको केरा बिक्री गरेका थिए । यसबाट खर्च कटाई उनलाई खुद रु ६ लाख आम्दानी भएको थियो । यस वर्ष १३ विघा जग्गा थप गरी केरा खेतीलाई उनले विस्तार गरेका छन् । केरा खेती गर्ने जग्गाको क्षेत्रफल बढेसँगै आम्दानी समेत बढ्नेमा उनि ढुक्क देखिन्छन् । कम मिहेनतमै बढी प्रतिफल दिने जी नौ जातको टिस्युकल्चर गरिएको केरा उनले खेतमा रोप्नु भएको छ ।

footwear zone

शुरुमा एक्लैले केरा खेती गर्दै आएकामा हाल भतिजा प्रताप रानालाई समेत उनले साझेदारका रुपमा लिएर केरा खेतीलाई अगाडि बढाएका छन् । आधुनिक तरीकाले केरा खेतीलाई विस्तार गरेको उनको भनाइ रहेको छ । झण्डै १६ वर्षअघि एक भारतीय किसानबाट केरा खेती गर्ने तरीकाबारे जानकारी लिएपछि पहिलो वर्ष केराका विरुवाहरु पनि भारतबाटै ल्याएर खेती गरेको उनले बताए । चाहे जस्तो आम्दानी लिन सफल भएपछि उत्साहित भएर निरन्तर रुपमा केरा खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएको उनको भनाइ छ ।

गत वर्ष कृषि ज्ञान केन्द्रबाट उहाँले केरा खेतीका लागि रु एक लाख २० हजार अनुदान रकम समेत प्राप्त गरेका थिए । “उन्नत जी नौ जातको केरा खेतमा रोप्न थालेपछि आम्दानी बढ्दै गएको छ” उनले भने, “केरा खेतीबारे तालीम, कृषि औजार र उपकरणको प्रयोगमा जोड दिन थालेपछि लागत खर्चमा समेत निकै कटौती भएको छ ।” गहुँ, धानलगायतका बालीका लागि अनुदानको मलको कोटा निर्धारण गरे जस्तै केरा खेती गर्ने किसानका लागि पनि सरकारले कोटा निर्धारण गर्नुपर्ने उनको सुझाव छ । उनि भन्छन्, “केरा रोप्ने बेलादेखि बाली दिँदासम्म मलको आवश्यकता हुन्छ । बजारमा मल नपाउँदा निकै सास्ती खेप्नु पर्दछ । भारतबाट अवैध रुपमा भित्राइएको रासायनिक मलको गुणस्तर नहँुदा ठगिने गरेका छौँ ।”

भारतीय केरालाई निर्वाध रुपमा भित्राइँदा मूल्यमा प्रतिस्पर्धा गर्न गाह्रो भएको रानाले बताए । “भारतीय केरा सस्तोमै बिक्री हुन्छ । हामी कहाँ मलखाद, सिँचाइ, जोताइ, मजदूरको ज्याला गरी लगत खर्च बढी हुने भएकाले भारतीय केरासँग प्रतिस्पर्धा गर्न सहज छैन”, उनले भने । केरा उत्पादन गर्नका लागि १८ महिना लाग्ने गर्दछ । उत्पादकभन्दा बिचौलियाले बढी कमाउने गरेको उनको भनाइ छ ।

डडेल्धुरा, महेन्द्रनगर, धनगढी अत्तरियालगायतका बजारका व्यापारीले नगदमै केरा खरीद गरी घरबाटै लैजाने गरेका छन् । उत्पादित केरा घरबाटै बिक्री हुने गरेकाले बजार खोज्दै जानु पर्ने झन्झट समेत छैन । उनले केरा खेतीका लागि दुई जना स्थायी र ३५ जना अस्थायी (आंशिक) रुपमा काम गर्ने गरी कामदार नियुक्त गरेका छन्

घरमै केराका टिस्युकल्चर गरिएका विरुवाको नर्सरी

घरमै टिस्युकल्चर गरिएका जी नौ जातका केराको नर्सरी तयार गरी रानाले आम्दानी गर्दै आएका छन् । नर्सरीमा उत्पादित विरुवा आफ्नै केरा फार्ममा रोप्ने र बाँकी रहेका बिरुवा अरुलाई बिक्री गर्छन् ।

ग्रिन हाउसभित्र रानाले केराका विरुवाको नर्सरी स्थापना गरेका छन् । गत वर्ष ४० हजार बिरुवा तयार गरी बिक्री गरेका रानाले यस वर्ष ६० हजार बिरुवा नर्सरीमा उत्पादन गरेका छन् । उत्पादित विरुवामध्ये ५० हजार बिक्री गरेका छन् । पाँच हजार बिरुवा नर्सरीमा बेच्न बाँकी रहेका छन् । उत्पादित पाँच हजार विरुवा विभिन्न कारणले मरेका छन् ।

“केराका उत्पादित विरुवा रु २० लाखमा बिक्री भएका छन्”, उनले भने, “यसबाट रु चार लाख आम्दानी भएको छ ।” उत्पादित केराका विरुवा शुक्लाफाँटा, बेलौरी, लालझाडी र पुर्नवासका ८० बढी किसानले खरीद गरी लगेका छन् । नर्सरीमा उत्पादित प्रतिबिरुवा रु ४० का दरले बिक्री हुँदै आएको छ ।

You might also like

Comments are closed.