भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो

कञ्चनपुर । सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी फिर्ता ल्याएको छ । नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटबाट भैँसी फिर्ता ल्याइएको हो ।

भारतीय चोरले भैँसी चोरेर लगेको जानकारी पाउनासाथ बोर्डर आउटपोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमाण्डमा रहेको १० जनाको टोली, झिलमिलाबाट प्रहरी नायब निरीक्षक रामबहादुर बोहराको कमाण्डमा तीन र भैँसीवाला स्थानीयवासीसहितको टोलीले भारतीय सुरक्षाकर्मीको सहयोगमा भैँसी फिर्ता ल्याएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।

“चोरी गरिएकामध्ये १२ वटा भैँसी चोरहरुले लग्दै गरेको अवस्थामा फेला पारेका छौँ”, उनले भने, “एक भैँसी फेला पर्न सकेको छैन । चोरीमा संलग्न भने फरार भएका छन् ।” भारतीय टाटरगञ्ज ग्राम पञ्चायतका प्रधान सतननाम सिंहले समेत भैँसी फिर्ता ल्याउन सहयोग गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै रहेको सीमास्तम्भ नम्बर ७८८७ बाट भारतीय पाँच जनाको समूहमा रहेका चोरले भैँसी चराइरहेका शिवराज उपाध्यायका छोरा १७ वर्षीय अरुण उपाध्यायलाई डर त्रास देखाई शुक्रबार १३ वटा भैँसी भारततर्फ लगेका थिए ।

footwear zone

भारतबाट फिर्ता ल्याइएका भैँसीमा शङ्कर थापाका दुई, नवराज कठायतको एक, गोमा रावतको दुई, चन्दबहादुर रावतको पाँच र तेजबहादुर रावतका दुई रहेका छन् । शिव उपाध्यायको एक भैँसी फेला पर्न सकेको छैन । सम्बन्धित व्यक्तिलाई भैँसी बुझाइएको सशस्त्र प्रहरीको भनाइ छ ।

You might also like

Comments are closed.