हराउँदैछ असारे मौलिकता र परम्परा

सुशीला रेग्मी, रामपुर ।

‘असारलाई भनी कुटेका चिउरा चैतैमा घुन लाग्यो,
छोरीलाई सुख छ भन्थ्यौ नि बाबा मेलैमा जुन लाग्यो ।’

पाल्पा रामपुरका कृषक लक्ष्मी तिवारीलाई यसरी गीत गाएर पञ्चेबाजाको तालमा दिनभर धान रोपाइँ गरेको याद झल्झली आउने गर्छ । त्यस समयमा उनी रोपाइँलाई एउटा ठूलो पर्वका रुपमा पनि लिने गर्थीन् ।

footwear zone

असारे भाकामा आफ्ना साथीसङ्गीहरुसँग दिनभर गीत गाएर धान रोप्दा मेलो सकेको पनि उनलाई पत्तो हुँदैनथ्यो । धेरै परको पनि होइन । आजभन्दा दुई दशकमात्र अघिको स्मरण गर्छीन् उनी । बाजे रोपाइँ (पञ्चेबाजा बजाउँदै गीत गाएर बाजाको तालमा गरिने रोपाइँ) गरेर आफ्ना साथीसँग हिलो खेलेर रमाइलो गरेको अनुभव उनीसँग ताजै छन् ।

अहिले यस्तो रोपाइँको प्रचलन त हराएको छ तर आफ्ना सन्ततिलाई ती पुराना यादहरु सुनाएरै भए पनि उनी चित्त बुझाउँछीन् । “जमाना सस्तो र सजिलो पनि आयो । अहिले सजिलै खेतीपाती गर्ने, जोत्ने आदि कामका लागि आधुनिक प्रविधिहरु भित्रिए अनि किन दुःख गर्नु ? वर्षाको रोपाइँकै लागि भनेर अब वर्षभरि हलगोरु किन पाल्नु ? सजिलो पाएपछि मानिसले अप्ठेरो किन गर्नु र ?” उनी सुनाउँछीन् ।

रोपाइँमा साथीभाइबीच मायाप्रेमका साथै ठट्यौली पाराका गीत गाउँदा एक प्रकारको रमाइलो वातावरण हुने गरेको तिवारीको अनुभव छ । पुराना असारे भाका तथा उवाली गीत गाएर धान रोपाइँलाई एउटा रमाइलो पर्वका रुपमा लिने गरे पनि अहिले भने परम्परा नै परिवर्तन भएको उनी बताउँछीन् ।

उनी भन्छीन्, “दिनभर धान रोपाइँको रमाइलोले थकाइ लागेको पनि पत्तो हुन्नथ्यो तर अहिले हिजोका ती दिनहरु र त्यो वातावरण आँखामा झलझली घुमेर आउँछ, बिहान ट्र्याक्टर लगायो भने दिउँसो एकै छिनमा खेत रोपेर सकिन्छ” ।

आधुनिक प्रविधिको विकासले खेती गर्न सजिलो बनाएको त छँदैछ । यसमा उनी र अरू किसान पनि खुशी नै छन् तर प्रविधिको विकासले पुराना मौलिक संस्कृति नै हराउन पुगेकामा भने कृषक तिवारीलाई चिन्ता छ ।

“महिना दिन अघिदेखि नै रोपाइँका लागि आवश्यक पर्ने सबै सामग्रीको बन्दोबस्त गरेर राखिन्थ्यो, असार लागेपछि गाउँमा पालैपालो मेलापात हुन्थ्यो, दिनभर साथीसङ्गीसँगै हिलो खेल्दै बाजाको तालमा गीत गाउँदै धान रोपेर घर फर्कंदा थकानको अनुभूति पनि हराउने गथ्र्यो । अहिले ट्र्याक्टरले हिलो बनाएपछि दुई तीन घण्टामै रोपेर सकिन्छ”, तिवारीले भनीन् ।

‘हलगोरु झरे खेताली झरे बँेसीको रोपाइँमा,
सङ्गी र साथीको झझल्को आउँछ एकलो बेलैमा’,
‘आज नि रोपाइँ भोलि नि रोपाइँ पर्सि नि जानुछ,
एकै र दिन गरेको खेती वर्षदिन खानुछ ।’

यस्ता गीतमा महिलाका घर माइती गर्दाका दुःखसुख वेदनाका भाव पनि झल्किन्थ्यो । मेलापात गर्दा आफूले भोगेका कष्ट सबै साथीभाइसँग गीतमार्फत पोख्दा हल्का पनि हुने गर्दथ्यो भन्छन्, ज्येष्ठ नागरिकहरु । उनीहरुको अनुभव छ, “त्यस्तो गीतसङ्गीत न अहिले रोपाइँका बेला सुन्न पाइन्छ नत तीजकै बेलामा ।”

कृषिमा आधुनिक प्रविधिको विकासले धान रोप्ने पुरानो मौलिक संस्कृति नै हराउन पुगेको छ । असारे भाकामा गीत गाउँदै धान रोपेर महिनादिन बिताउने कृषक अहिले भने प्रविधिमैत्री कृषि कार्य हुन थालेपछि दङ्ग पनि छन् ।

कुनै समय धान रोपाइँ गर्न खेतभर हलगोरु, खेतालाले भरिभराउ हुन्थे । गाउँमा साथीभाइ छिमेकीबीच मेलापात पालैपालो चल्थ्यो । अहिलेको अवस्थामा आइपुग्दा भने असारे संस्कृति र परम्परागत मौलिकता हराउन पुगेको छ ।

पहिला पञ्चेबाजाको तालमा धान रोप्ने, अन्न धेरै फलोस् भनी खेतको बीच भागमा भकारी राख्ने, एकअर्काबीच हिलो खेल्ने चलन रहेको पहिलेका बूढापाकाहरु बताउँछन् ।

पहिलाको धान रोपाइँ र अहिलेकामा धेरै परिवर्तन हँुदै गएको छ । दिनभर गोरुले जोत्ने खेतमा एक घण्टामै ट्र्याक्टरबाट काम सम्पन्न हुने हुँदा यी पुराना परम्पराहरु हराउन पुगेका हुन् भन्छन्, कृषक उदयराज अर्याल ।

“हलगोरु लिएर खेतमा जाँदा छुट्टै आनन्द लाग्थ्यो, बाजा बजाउने कोहीले रोप्ने कोहीले बीउ उखेल्ने गर्दा धान रोपाइँ पनि एउटा उत्सव जस्तै लाग्थ्यो”, उनले भने ।

गाउँघरमा पालो लगाएर असार र साउन महिनामा दिनभर खेतमा धान रोपाइँ गर्ने गरिए पनि अहिले पालो लगाएर धान रोप्ने चलनमा पनि कमी आउन थालेको कृषक अर्यालको अनुभव छ ।

गाउँमा विभिन्न कृषि यान्त्रिकीकरणको प्रयोग बढ्दै जानु, खेतीयोग्य भूमि घरघडेरीमा परिणत हुनु, युवा जनशक्ति रोजगारीका क्रममा विदेश पलालयन हुनु जस्ता कारणले पुरानो मौलिक परम्परा, संस्कृति हराउन पुगेको हो ।

कृषकले पछिल्लो समय उत्पादन बढाउनेतर्फ ध्यान दिन थालेकाले पुरानो प्रविधि छाडेर नयाँनयाँ प्रविधि अङ्गाल्न पुगेका छन् । यसले गर्दा पनि परम्परागत रुपमा चलनचल्तीमा रहेका मौलिक संस्कृति हराउन पुगेको छ ।

अबका पुस्तालाई हिजोको बाजे रोपाइँ, गोरुले जोतेर धान रोप्ने कुरा एकादेशको कथा जस्तै हुन थालेको छ । समयानुसार समाजका धेरै क्षेत्रमा नयाँ चलनचल्तीको शुरुआत भइसकेको छ र यी नयाँ प्रचलनहरु समाजले स्वीकार पनि गरेको छ । समाजका पुरानो पुस्ताहरुले भने आधुनिकता र परिवर्तनका नाममा मौलिक परम्परागत संस्कृति लोप हुन लागेकामा चिन्तित छन् ।

खनजोत गर्न पावर टिलर, मिनी टिलर, ट्र्याक्टरको सुविधा गाउँगाउँमा पुगेपछि खेती गर्ने परम्परामा परिवर्तन आउन पुगेको छ । विभिन्न निकायबाट कृषि बाली उत्पादन बढाउन आधुनिकीकरण औजार कृषकलाई उपलब्ध गराउन थालेपछि कम लागत र छोटो समयमा कृषकले खेती गर्न थालेको रामपुर नगरपालिका कृषि शाखाप्रमुख रामहरि पाण्डेय बताउँछन् ।

“पहिला खेती धेरै मेहनत र लगानी गर्नुपथ्र्यो, अहिले कम लागतमा छोटो समयमा आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्न थालेपछि काम छिटो सम्पन्न भएको छ भने कृषकले पनि राम्रै उत्पादन लिने गरेका छन्”, उनले भने ।

कृषकले पछिल्लो समय उत्पादन बढाउनेतर्फ ध्यान दिन थालेकाले पुरानो प्रविधि छाडेर नयाँनयाँ प्रविधि अङ्गाल्न पुगेका छन् । यसले गर्दा पनि परम्परागत रुपमा चलनचल्तीमा रहेका मौलिक संस्कृति हराउन पुगेका छन् । नेपाल सरकारले असार १५ लाई हरेक वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रुपमा मनाउन थालेको छ । पहिलेको असार १५ को जस्तो रौनक भने यो दिवसमा पनि पाइँदैन ।

You might also like

Comments are closed.