काठमाडौं । एनआइसी एसिया क्यापिटल लिमिटेडको अध्यक्षमा एनआइसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । शुक्रबार सम्पन्न सञ्चालक समितिको ९२औं बैठकले ढकाललाई अध्यक्ष मनोनित गरेको हो ।
प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट ढकालसँग देश तथा विदेशमा बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । एनआइसी एसियाको उच्च व्यवस्थापन तहमा रहेर १२ वर्ष काम गरिसकेका उनी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष भएर काम गरेका छन् ।
‘उहाँले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुुम्ने विश्वास लिएका छौं,’ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनआइसी एसिया क्यापिटलले म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निस्कासन तथा बिक्री प्रवन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिृकत रायमाझीले जानकारी दिए ।




Comments are closed.