राजस्व असुलीमा तीन वर्षपछि सफल भयो भैरहवा भन्सार

नरेश केसी/ सिद्धार्थनगर । कोरोना सङ्क्रमणका कारण राज्यका विभिन्न निकाय राजश्व असुलीमा असफल भइरहेका बेला भैरहवा भन्सार कार्यालय भने लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले विगतका वर्षको तुलनामा आर्थिक गतिविधि बढेसँगै राजश्व असुली बढेको राससलाई बताए ।

आव २०७७÷७८ को असार सम्ममा भन्सार कार्यालयले ११२ दशमलव ५४ प्रतिशत राजश्व असुली गरेको छ । उक्त राजश्व सङ्कलन वार्षिक लक्ष्यभन्दा १२ दशमलव ५४ प्रतिशत बढी हो । आव २०७४÷७५ मा रु ८१ अर्ब ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य तोकिएकामा ८६ प्रतिशत मात्र अर्थात् रु ७० अर्ब २८ करोड ९३ लाख पाँच हजार राजश्व असुली भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

यसैगरी आव २०७५/७६ मा पनि कार्यालयले रु ९३ अर्ब ९५ करोड ९७ लाख ७३ हजार असुलीको लक्ष्य पाएकामा ८८ प्रतिशत अर्थात् रु ८२ करोड ३० लाख ५३ लाख ३३ हजार मात्र असुल गर्न सकेको थियो । सबैभन्दा कम राजश्व आव २०७६/७७ मा असुल भएको थियो । अहिलेसम्मकै सबैभन्दा बढी रु एक खर्ब छ अर्ब ८८ लाख ८६ हजार लक्ष्य तोकिएकामा कार्यालय ६६ प्रतिशत अर्थात् रु ७० अर्ब २९ करोड १५ लाख ९७ हजार राजश्व मात्र असुल्न सफल भएको थियो ।

footwear zone

आव २०७७/०७८ मा भन्सार कार्यालयले विगत तीन वर्षको राजश्व असुलीको असफलता तोड्दै ११२ दशमलव ५४ प्रतिशत राजश्व असुली गरेको छ । आव २०७७/७८ मा रु ९९ अर्ब ६६ करोड राजश्व असुली लक्ष्य पाएको कार्यालयले रु एक खर्ब १२ अर्ब राजश्व असुली गरेको छ । गत मङ्सिरमा कार्यालय प्रमुख भएर आउनुभएका पौडेलले भन्सारमा नियमितरूपमा आन्तरिक नियन्त्रण छड्के जाँच, अनलाइन मनिटरिङ, हरेक दिनको कारोबारको आलेप अर्को दिन गर्ने प्रणालीको शुरुआत र वैध व्यापारलाई प्रोत्साहन हुने गरी डेस्क सञ्चालन गरेसँगै राजश्व असुलीमा सफलता हासिल भएको बताए ।
रासस

You might also like

Comments are closed.