धादिङका ७ गाउँपालिकाले निःशुल्क रगत उपलब्ध गराउने

धादिङ । जिल्लाका सात गाउँपालिकाले आफ्ना नागरिकलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

निःशुल्क रगत उपलब्ध गराउनका लागि ती गाउँपालिकाले आवश्यक रकम समेत विनियोजन गरेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं, भक्तपुर, चितवन र पोखरा शाखासँग ती गाउँपालिकाले सम्झौता गरेको छ ।

स्थानीयवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निःशुल्क उपलब्ध गराउने उद्देश्यले सो सम्झौता गरेको ती गाउँपालिकाले जनाएको छ । गाउँपालिकाबाट प्राप्त आधिकारिक परिचयपत्रका आधारमा रगत निःशुल्क दिने व्यवस्था मिलाइएको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायणकुमार श्रेष्ठले बताए ।

footwear zone

निःशुल्क रगत उपलब्ध गराउनका लागि बेनीघाट रोराङ गाउँपालिकाले रु १० लाख, गजुरीले रु पाँच लाख, ज्वालामुखीले रु पाँच लाख, खनियाबासले रु पाँच लाख ४५ हजार, गङ्गाजमुनाले रु तीन लाख, त्रिपुरासुन्दरीले रु दुई लाख ९७ हजार ५८० र रुबीभ्यालीले रु दुई लाख सोसाइटीलाई उपलब्ध गराएको छ ।

“ती गाउँपालिकाका बासिन्दाले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । पहिचान पत्र लिएर ब्लड बैंक पुगे हुन्छ”, सभापति श्रेष्ठले भने, “आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर निःशुल्क रगतको व्यवस्था मिलाएको छ ।”

ती गाउँपालिकाका बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र, वडाको सिफारिस पत्र वा नेपाल सरकारले जारी गरेका आधिकारिक कागजपत्र र बच्चाको जन्मदर्ताको फोटोकपी उपलब्ध गराएपछि निःशुल्क रगत उपलब्ध गराउने सभापति श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.