रसुवा नाकाबाट चिनियाँ सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयातमा क्रमशः वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारी साधन नेपाल भित्रिएको र आयातको परिमाण भने क्रमशः वृद्धि भइरहेको जनाएको हो ।

कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार यसरी आयात भएका सवारी साधनमा किसानले प्रयोग गर्ने हाते ट्र्याक्टर २४९, पिकअप भ्यान ३०, एम्बुलेन्स पाँच, जिप, कार र भ्यान ५०, सामान बोक्ने ठूलाठूला टिपर २३० र ३० सिट क्षमताको चार वटा विद्युतीय बस रहेका छन् ।

व्यापारी तथा व्यावसायिक कम्पनीले झिकाएका ती सवारी साधनको भन्सार प्रक्रिया पूरा भई प्रायः आ–आफ्ना गन्तव्यतर्फ लागिसकेका र भन्सार हाताबाट लैजान बाँकी सवारी साधन काठमाडौंका लागि प्रस्थान गराउने तयारी भएको छ । यस्तै आयात भएका सामग्रीमा तयारी पोशाक, जुत्ता तथा चप्पल, जिपकार भ्यान, होजियारी कपडा, ब्याग, मोबाइलका ब्याट्री, स्वास्थ्यका सामग्री, स्याउ, ओखर एवं लसुनलगायत विविध वस्तु रहेको बताइएको छ । नेपालका विभिन्न नदी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनालाई आवश्यक पर्ने चिनियाँ उपकरणसमेत आयात भइरहेको छ । निर्यात भने शून्य रहेको छ ।

footwear zone

गत आवमा रसुवागढी नाकाबाट कूल रु १८ अर्ब ३४ करोड ५४ लाख ६१ ह्जार बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको भन्सार तथ्याङ्कले देखाएको छ । प्राप्त माल सामग्रीको मापदण्डअनुरूप मूल्याङ्कनबाट भन्सार, अन्तःशुल्कका साथै मूल्य अभिवृद्धि करसमेतका तीन शीर्षकबाट गत आव रु तीन अर्ब ५४ करोड २७ लाख ९३ हजार असुली भई सो रकम राज्य कोषमा दाखिला भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए।

विगतका वर्षमा रु आठ अर्ब २७ करोड ४५ लाख असुली भएकोमा गत वर्ष सामानको आयात परिमाण अत्यन्तै न्यून हुँदा भन्सार शुल्कबाट उठ्ने राजस्वमा गिरावट आएको भन्सार कार्यालयले जनाएको छ । यसरी राजस्व गिरावटको मुख्य बाधक भने दोस्रो लहरको कोभिड सङ्क्रमण रहेको छ ।

रोग नियन्त्रणका लागि पहिलो चरणदेखिनै नेपाल–चीनबीचको रसुवागढीस्थित लेहेन्देखोला मितेरी पुलबाट केरुङका लागि सवारी साधनका साथै मानिसको आवागमनसमेत बन्द भई सामग्री आयातमा कमी भएका कारण राजस्व असुलीमा गिरावट आएको भन्सार कर्मचारी बताउँछन् । कोभिड सङ्क्रमणको पहिलो लहरअन्तर्गत केही महिना ठप्प भएको आयात दुई देशीय वार्तापछि चिनियाँ सवारी साधनले नै रसुवागढी सामान पु¥याउने सहमतिअनुरुप पुनः कारोवार सञ्चालन भएको थियो ।

जोखिमप्रति सजगता अपनाउँदै रसुवागढीको सीमा क्षेत्रमा चिनियाँ सवारी साधनले ल्याएका सामग्री ओसारपसारका लागि क्वारेन्टिनमा बसेका चालक तथा कामदारलाई प्रवेश गराइएको छ । दैनिक ५० कन्टेनरभन्दा बढी माल सामग्री आयात हुने नाकामा अहिले १५ कन्टेनर मात्र आयात भइरहेको छ । आयातको परिमाण बढाइदिन छिमेकी अधिकारीको नाताले चिनियाँ भन्सारका समकक्षीसँग आफूले पहल गरिरहेको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।

निरन्तरको भारी वर्षा, सीमाको कार्यस्थल पहरा फेद, आयात सामग्रीको शुल्क निर्धारण गर्ने स्थल खोलाको बगर भएका कारण समय समयमा भिरबाट खस्ने ढुङ्गा र भोटेकोशीमा आउने बाढीको जोखिमले वर्षायामको समयमा मानसिक त्रास बढ्ने गरेको भन्सारका कर्मचारी बताउँछन् ।

You might also like

Comments are closed.