पोखरा । कोभिड–१९ बाट थला परेको पर्यटन क्षेत्रलाई डिजिटल माध्यमबाट प्रबद्र्धन गरी पूर्ववत अवस्थामा फर्काउने उद्देश्यका साथ पश्चिमाञ्चल होटल संघ पोखरा र काठमाडौंको गौशलामा कार्यालय रहेको एनालग इन्क प्रालिबीच शनिबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पोखरामा अयोजित एक कार्यक्रममा संघका अध्यक्ष विकल तुलाचन र इन्कका प्रमुख कार्यकारी अधिकृत आशुतोष अग्रवालले हस्ताक्षर गरी सम्झौतापत्र साटासाट गरेका थिए ।
सम्झौता अनुसार इन्कले संघसँगको सहकार्यमा संस्थाका सदस्य होटलहरुलाई २० प्रतिशत छुटमा डिजिटल माध्यमबाट बजारीकरणमा सघाउने जनाइएको छ । कोभिड माहामारीको अवस्थमा पनि इन्टरनेटका माध्यमबाट पोखराका होटलहरुमा सेवा सहज बुकिङ गर्न सकिने वेबमा आधारित प्रणाली इन्कले विकास गर्ने छ ।
संघको वेबसाइटको रिडिजाइन, वेब सेवामा आधारित रही होटलहरुको डिजिटल ब्राण्डिङ, सोसल मिडिया र सूचना प्रविधिसँग सम्बन्धित सेवाहरु समेत इन्कले प्रदान गर्ने संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । संघसँगको रणनीतिक साझेदारीले पर्यटन क्षेत्र, व्यवसायी र इन्कलाई समेत आपसी लाभ हुने विश्वास इन्कका प्रमुख कार्यकारी अधिकृत अग्रवालले व्यक्त गरे ।

कोभिड– १९ का कारण अर्थतन्त्र, दैनन्दित जिवनचर्या, सार्वजनिक सेवा र विविध अवसरहरुका अतिरिक्त पर्यटन क्षेत्र समेत नराम्रो गरी प्रभावित भएको भन्दै इन्कले डिजिटल बजारीकरणले यस्तो अवस्थालाई सकारात्मक दिशा दिन सघाउ पुग्ने विश्वास व्यक्त गरेको छ ।
कोभिडका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय रुपमा हुने आवागमनमा न्यूनता आउँदा पोखराको पर्यटन क्षेत्रको सम्पर्क अन्तर्राष्ट्रिय पर्यटन बजारसँग टुटेजस्तै भएको र होटल क्षेत्रका धेरै बुकिङहरु समेत रद्द भएको अवस्था समेत जारी संयुक्त विज्ञप्तिमा स्मरण गरिएको छ ।




Comments are closed.