काठमाडौं । प्रतिनिधिसभाका सांसदले विपद्को जोखिमलाई आँकलन गर्न नसके आगामी दशक भयावह हुने बताएका छन् ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेले बेलैमा जोखिम रोक्नतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराए । पानीको भण्डारले चुरे अत्यन्त जोखिममा रहेकाले त्यसका कारण अन्नको आधार तराई क्षेत्र पनि खतरामा परेको उनले बताए ।
“चुरेको जोखिमलाई आँकलन गर्न नसके आउँदा १० वर्षमा अवस्था भयावह हुनेछ”, उनले भने । क्षति न्यूनिकरण, वातावरण संरक्षण तथा जोखिम रोक्ने सवालमा विभिन्न दश बँुदा प्रस्तुत गर्दै पोखरेलले हरित अभियान चलाउन पनि सरकार तथा अन्य निकायसँग अनुरोध गरे ।

उनले यसपाली मनाङ र मेलम्चीमा ठूलो मनसुनजन्य घटना आएकाले प्रभावितको पुनःस्थापनमा ध्यान दिन आग्रह गरे । विकास निर्माणका कार्य कम मूल्यमा बन्नुपर्ने हुँदा जोखिम क्षेत्रमा नै बन्ने गरेको र अधिकांश विकासका पुर्वाधार पनि नदी किनारमा रहेको दृष्टान्त प्रस्तुत गर्दै उनले नदीको तटीय क्षेत्र सुरक्षित बनाउन नसक्दा घर तथा कृषियोग्य जमिन बगरमा परिणत हुने गरेको यथार्थ प्रस्तुत गरे ।
नदीका लागि आवश्यक बगर र हरित क्षेत्र छाड्न पनि उनले आग्रह गरे । राजमार्ग र जलविद्युत् आयोजनाका पुर्वाधार जोगाउन उहाँले ध्यानाकर्षण गराए ।
सांसद महेश्वरजङ गहतराजले राप्ती नदीको बाढीले अत्यधिक क्षति पु¥याएको भन्दै तटबन्ध निर्माणमा ध्यान दिन सरकारसँग माग गरे । किसानलाई मल अभाव भएकाले सरकारले समयमै उपलब्ध गराउन पहल गर्नुपर्नेमा उनले जोड दिए ।
बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन ध्यानाकर्षण गराउँदै मनसुनजन्य विपद्लगायत नागरिकले दैनिक भोग्नु परेका समस्या समाधानमा प्राथमिकता दिन सरकारसँग आग्रह गरे । उनले सत्ताधारी पंक्तिबाट आइरहेको निरासातर्फ प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण पनि गराए ।
उनले एमसिसीतर्फ सङ्केत गर्दै भने, “भारत, चीन, अमेरिकाप्रति पहिले हाम्री साझा दृष्टिकोण बनाउँ अनि कुन सम्झौता खारेज गर्ने, कुन राख्ने कुन नराख्ने भन्ने हुन्छ ।” गणतन्त्र आइसक्दा पनि साझा विदेश नीति बनाउन नसक्नु विडम्बना भएको उनको भनाइ थियो ।
विगतको एक दशक कसरी बित्यो भन्ने कुरा नभुल्न र सर्वोच्चको फैसलामा रमाउने काम नगर्न पनि नेताहरुलाई उनले सुझाव दिए । कोभिड नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेकाले अझै थप शक्तिशाली बनाउन उनले आग्रह गरे । सांसद रङ्गमती शाहीले कोरोना नियन्त्रणका लागि सरकारले यथाशक्य कदम चाल्नुपर्ने बताए ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले भूमिहिनका समस्या समाधान गर्न सरकारसँग माग गरे । अघिल्लो सरकारले भूमिहिनका समस्याबारे चालेका कदमलाई वर्तमान सरकारले निरन्तरता दिनुपर्नेमा उनको जोड दिए ।
जनता समाजवादी पार्टी (जसपा) का डा सुरेन्द्रप्रसाद यादवले विगतमा कोरोना प्रभावित भएका र नभएकालाई एउटै अस्पतालमा उपचार गराउँदा जटिलता उत्पन्न भएको उल्लेख गर्दै अबका दिनमा सो गल्ती दोहो¥याउन नहुनेमा जोड दिए ।
सांसद रेणुका गुरुङले कोरोना सङ्क्रमित बढ्दै गएकाले त्यसको रोकथामका लागि सरकारले पहल गरोस् भनेर माग राखिन् । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सरकारले स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्नेमा जोड दिँदै कोरोनाविरुद्धको खोप सुनिश्चत गर्न माग गरे ।




Comments are closed.