आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा केही सुधार

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडले सेवाग्राही कार्यालय नछिराउने क्रममा सुधार आएको छ ।

कोरोना जोखिमलाई कारण देखाउँदै सेवाग्राहीलाई मूल ढोकाबाहिर राखेर काममा ढिलाइ गरेको समाचार यही साउन १८ गते राष्ट्रिय समाचार समिति (रासस)बाट सार्वजनिक भएपछि सेवामा सुधार गरिएको हो । समाचार सार्वजनिक भएपछि सेवाग्राहीलाई मूलढोकाबाट टोकनसहित प्रवेश गराएर सेवा सुरु गरिएको छ । यसअघि लिमिटेडको टेकुस्थित कार्यालयको मूलढोका बन्द गरेर सेक्युरिटी कम्पनीका सुरक्षाकर्मीमार्फत् मात्र सेवा प्रवाह गरिँदा सेवाग्राहीको काम समयमा हुनसकेको थिएन । डिम्याट खाता खोल्न फारम बुझाएको एक हप्तापछि मात्र सेवाग्राहीले नम्बर पाउने गरेका थिए ।

कार्यालयमा जी फोर सेक्युरिटी कम्पनीबाट खटिएका सुरक्षाकर्मी रघु विष्टले मन लागेका सेवाग्राहीलाई छिराउने मन नलागेका सेवाग्राहीलाई भित्र जान पाइँदैन भनी फर्काउने गरेकामा अहिले कार्यालयबाहिरको ढोकामा राख्न थालिएको छ । सुरक्षाकर्मी विष्टले केही ब्रोकरको इशारामा सेवाग्राहीलाई भित्र नछिराउने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका थिए । लिमिटेडले दलालमार्फत् काम गराउने प्रवृत्तिलाई प्रोत्साहन गर्न ग्राहक नछिराएको आरोप सेवाग्राहीले लगाउँदै आएका थिए । कार्यालय प्रमुख बद्रीप्रसाद प्याकुरेल केही कमी कमजोरी भएकामा त्यसलाई सुधार गरेर सेवा दिइएको बताउँछन् ।

footwear zone

टोकन दिएर सेवाग्राहीलाई कार्यालयभित्र प्रवेश गराए पनि कुन काम कति समयमा हुन्छ भनी कार्यालयमा राखिनुपर्ने नागरिक बडापत्र भने नराखिँदा कार्यालयबाट पाउने सेवाका विषयमा जानकारी पाउन सेवाग्राही कठिन हुने अवस्था छ । सेवाग्राही शर्मिला घोरासैनी कार्यालयबाट पाइने सेवा, लाग्ने अवधि, शुल्क जिम्मेवार अधिकारीलगायत विषयको जानकारी भने अझै पाउन नसकिएको बताउँछन् । कार्यालयको सेवा अझै पारदर्शी हुननसकेको उनको गुनासो छ ।

सुशासन ऐन र नियमावलीमा सेवा प्रदायक कार्यालयले सेवा लिन चाहिने कागजात, दस्तुर, समय, जिम्मेवार अधिकारीलगायतको विवरण नागरिक बडापत्रमा राख्नुपर्ने व्यवस्था गरिए पनि कार्यान्वयन हुनसकेको छैन । सरकारी कार्यालयले नै कानूनको उल्लङ्घन गर्दा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

यसअघि सुरक्षाकर्मीसँग कुस्ती खेलेर कार्यालयमा छिर्ने सेवाग्राहीले समेत कर्मचारीबाट सेवा नपाउने अवस्था थियो । सेवा लिन फाइलसहित फेरि निजी कम्पनीका सुरक्षाकर्मीकहाँ फर्कनुपर्ने बाध्यताको अन्त्य भएको छ । कर्मचारीले सेवाग्राहीबाट पैसा लिएको भौचरसमेत नदिने गरेकामा यसमा समेत सुधार भई भौचर पाउन थालेका छन् । पैसा फाराममै स्टिच गरेर सुरक्षाकर्मीलाई बुझाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

मेरो शेयर फाराम भरेका सेवाग्राहीलाई इमेलमा जानकारी पठाउने प्रतिबद्धता कर्मचारीले व्यक्त गर्ने गरे पनि वर्षौँदेखि त्यस्तो इमेल नपाएको भन्दै सेवाग्राही कार्यालयमै पुग्ने गरेका छन् । यसमा भने अझै सुधार नआएको सेवाग्राहीको गुनासो छ । प्याकुरेल आफू कार्यालय प्रमुख भएर आएको दुई वर्षमा ७५ हजारभन्दा बढी डिम्याट खाता खोल्ने ग्राहक बढाएको बताउँछन् । हाल रहेका ३१ वटा मर्चेन्ट बैंकिङमध्ये आरबिबीलाई प्रतिस्पर्धीरूपमा अघि बढाइएको उनको दाबी छ ।

You might also like

Comments are closed.