बर्दिया निकुञ्जमा पाटेबाघको अनुगमन

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ को तथ्याङ्कअनुसार ८७ वटा वयस्क पाटेबाघ रहेका छन् । अहिले बाघको सङ्ख्या बढेर १ सयको हाराहारीमा रहेको निकुञ्जले अनुमान गरेको छ । अहिले निकुञ्जमा रेडियो कलरमार्फत पोथी पाटेबाघको अध्ययन, अनुसन्धान र अनुगमन भइरहेको छ । बाघ संरक्षणको योजना बनाउन मद्दत पुग्ने उद्देश्यले पछिल्लो समय बर्दियामा भएका मानवीय आक्रमणका घटना समाधान गर्न सहज हुने योजनाअनुरूप निकुञ्जले अनुगमन गरेको हो ।

सो क्षेत्रलाई संरक्षित वन्यजन्तु पाटे बाघको आनीबानीलगायत आवागमन अनुगमन गर्न जडान गरिएको स्याटेलाइट रेडियो कलरमार्फत बाघको अध्ययन सुरु गरिएको हो । निकुञ्जभित्र ठाउँठाउँमा बाघ क्यामरामा कैद हुने छन् । कर्णाली नदी र बबई नदीको तटीय क्षेत्रभित्र बाघको पानी र आहारा पाइने उपयुक्त ठाँउमा रेडियो कलर जडान गरिएको छ ।

केही महिनाअघि निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले पाँच वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको थियो । निकुञ्ज विभागले मन्त्रिस्तरीय निर्णयबाट बर्दिया–बाँके कम्प्लेक्समा चार वटा पाटेबाघ अध्ययन गर्ने अनुमतिपछि पहिलो चरणमा बर्दियाको बाघमा स्याटेलाईट रेडियो कलर जडान भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

footwear zone

उनले भने, “पहिलो जडान गरिएको स्याटेलाइट रेडियो कलरमार्फत पहिलो बाघको अध्ययन सकिएपछि ‘पर्फमेन्स’का आधारमा अन्य बाघको पनि अध्ययन सुरु गर्छौं, हामीले पोथी बाघमा कलर जडान गरी अनुसन्धान गरेका छौँ, लगतै भाले बाघमा पनि स्याटेलाइट जडान गर्ने तयारी हुँदैछ ।”

बाघले आधार क्षेत्र छाडेर खासै बाहिर निस्किएको देखिँदैन । पोथी बाघमा कलर जडान गरिएकाले खासै टाढा पुगेको पाइएको छैन । अब भाले बाघमा कलर जडान गरी अनुसन्धान गरिने छ । वयस्क भाले बाघले ५० देखि २०० वर्गकिलोमिटर र पोथी बाघले १५ देखि ३० वर्गकिलोमिटरको आधार क्षेत्र बनाउने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममा संरक्षण अधिकृत रविन कडरियाले बताए ।

पोथी बाघमा गरिएको रेडियो कलर जडान तथ्याङ्कअनुसार सानो क्षेत्रमा बाघले आवागमन गरेको देखिन्छ । बाघमा स्याटेलाइट रेडियो कलर जडानका लागि प्रकृति संरक्षण कोषले प्राविधिकलगायत सहयोग उपलब्ध गराएको कडरियाको भनाइ छ । बाघको आवागमन सानो क्षेत्र भएकाले बाघबाघबीच द्वन्द्व हुँदा वयस्क बाघ मानव बस्तीमा प्रवेश गर्छन् । बाघले आफू कमजोर रहेको बेलामा मान्छेलाई आक्रमण गर्छन् । उक्त घटना नघटोस् भनेर बाघको बासस्थानमा कति वटा पोथी बाघ रहेका छन् भनेर अध्ययन सुरु गरिएको कडरियाले बताए ।

You might also like

Comments are closed.