घाटा बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि   

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर रु १२८, डिजल र मट्टीतेल प्रतिलिटर रु १११ मा बिक्री हुँदै आएको थियो । निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेको छ । यसअघि प्रतिसिलिण्डर रु एक हजार ४२५ मा कारोबार हुँदै आएको ग्यास अब रु एक हजार ४५० पुगेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर रु दुईले वृद्धि भई रु ८६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।

मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ । निषेधाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई रु ९६ करोड नौ लाख घाटा हुने देखिएको छ । निगमका अनुसार पेट्रोलमा कूल रु १९ करोड, डिजलमा रु १९ करोड छ लाख र खाना पकाउने एलपी ग्यासमा रु ६२ करोड २२ लाख बराबरको घाटा रहेको छ ।

footwear zone

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा रु एक अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ १९ पैसा, डिजल प्रतिलिटर ४४ रुपैयाँ ४ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

You might also like

Comments are closed.