चालू आवको मौद्रिक नीति आर्थिक पुनर्उत्थानमा केन्द्रित छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति आर्थिक पुनर्उत्थानमा केन्द्रित रहेर ल्याएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले शुक्रबार आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियामा उहाँले आर्थिक पुनरुउत्थान पनि हुन सकोस्, कार्यान्वयन गर्नेलाई पनि समस्या नपरोस् भनेर आर्थिक पुनरउत्थानलाई सँगसँगै राखेर मौद्रिक नीति ल्याएको बताए । “कोभिडको दोस्रो वर्षको असहज अवस्थामा मौद्रिक नीति आएको छ, गत वर्षको लकडाउनभन्दा यो वर्ष सहज अवस्था छ, राष्ट्र बैंकले बैंकको तथ्याङ्क र बैंकले ग्राहकको विवरण हेर्ने हो”, गभर्नर अधिकारीले भने, “गत वर्षको भन्दा यो वर्षको अवस्था तुलना गर्न नै मिल्दैन, अहिले अवस्था धेरै सहज छ, यद्यपी केही क्षेत्र भने समस्यामा छन् ।”

उनले सबैलाई एकै ठाउँमा राखेर भन्दा पनि खास असर परेको उद्योगलाई कस्तोे प्रोडक्ट प्रयोग गर्दा हुन्छ भनेर छुट्याएर ल्याएको बताए । बैंकलाई आफ्नो ग्राहकको बारेमा राष्ट्र बैंकको भन्दा बढी जानकारी हुने भएकाले कोभिड प्रभावित व्यवसायी चिनेर सहुलियत दिने जिम्मा बैंकलाई दिएको उल्लेख गरे ।

footwear zone

उनले चालू आवको मौद्रिक नीतिले एक करोडभन्दा सानो ऋणमा दुई प्रतिशत प्रिमीयम तोक्ने राष्ट्र बैंकको नीतिलाई ‘नोबेल पोलिसी’को सङ्ज्ञा दिए । पहुँच नभएका र साना ऋणीको लागि रु एक करोडभन्दा सानो कर्जामा प्रिमियम तोकेको बताउँदै उनले यो कार्यान्वयन गर्न गाह्रो भएको बताए ।

गभर्नर अधिकारीले भने, “सानाका ऋणीको लागि ल्याएको ऐतिहासिक नीति हो, अहिले १६ लाख ८२ हजार ऋणीमध्ये ४७ हजार एक करोडभन्दा माथि कर्जा लिने छन् । धेरै ऋण लिनेको त बार्गेन गर्ने क्षमता नै बढी हुन्छ ।”

अधिकारीले शेयर धितोको रिसाइकल गरेर सीमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन प्रकृतिको शेयर धितो कर्जामा सीमा तोकेको बताए । “रु चार करोडको शेयर बैंकमा राखेर दुई करोड ८० लाख ऋण लिन पुनः दुई करोड ७० लाखको शेयर बैंकमा राखेर त्यसको ७० प्रतिशत कर्जा लिने र उक्त कर्जाको शेयरबाट पनि पुनःकर्जा लिने ‘रिसाइकलको प्रवृत्ती’ ठीक छैन भनेर लिमिट राखेको हो,” उनले भने ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालले गत आर्थिक वर्षको भन्दा मौद्रिक नीति धेरै सूचकका आधारमा सहज अवस्थामा आएको बताए । उनले भने,“हामीले राष्ट्र बैंकले तोकको सीमाभन्दा पनि धेरै कम ब्याजदरमा कर्जा दिएका छौँ ।” अध्यक्ष दाहालका अनुसार २०७६ चैतमा ५।०३ रहेको स्प्रेड दर ३.६ प्रतिशत ओर्लिएको छ । रु १० खर्ब सम्पत्ती वृद्धि हुँदा पनि केही करोड मात्रै ब्याज आम्दानी बढेको छ, सेयर बजारमा वृद्धि हुँदा त्यसमा पहिलेदेखि नै लगानी गरेको र अहिले लगानी गरेर आर्जन गरेको आम्दानी ११÷१२ प्रतिशतको प्रतिफल मात्रै छ ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले कठीन समयमा आएको मौद्रिक नीति पुनरुउत्थान र स्थायित्वलाई सन्तुलनमा राखेर आएको बताए ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लम्सालले मौद्रिक नीति समग्रमा सकारात्मक भएको बताए । होलसेल र रिटेल मर्जर, क्रस होल्डिङ भएकाको मर्जर सकारात्मक भएपनि त्यसमा स्पष्टता नआएको बताए । स्रोत व्यवस्थापनको माग भने सम्बोधन नभएको गुनासो गरे ।

वित्त कम्पनी संघका तर्फबाट आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले रु एक करोडभन्दा सानो कर्जामा दुई प्रिमियम लिँदा फाइनान्स कम्पनीले समस्यामा पर्ने बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रको अपेक्षा विस्तारित मौद्रिक नीति भएपनि राष्ट्र बैंकले सन्तुलित भनेर सङ्कुचित मौद्रिक नीति ल्याएको उल्लेख गरे ।

You might also like

Comments are closed.