काभ्रेमा ३३ करोड रुपैयाँ विद्युत् बक्यौता

काभ्रेपलाञ्चोक । नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोकस्थित दुई वितरण केन्द्रमा ३३ करोड विद्युत् महसुल बक्यौता रहेको छ । चार नगरपालिका र एक गाउँपालिकाले सडक बत्ती तथा अन्य प्रयोजनको रु १८ करोडभन्दा बढी विद्युत् महसुल चुक्ता गरेका छैनन् ।

बनेपा, धुलिखेल, पनौती र पाँचखाल नगरपालिका तथा भुम्लु गाउँपालिकाले उक्त परिमाणको महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणका काभ्रेपलाञ्चोकस्थित वितरण केन्द्रहरूले जनाएका छन् । ती स्थानीय तहले काभ्रे वितरण केन्द्र बनेपा र पाँचखाल वितरण केन्द्रबाट सडक बत्तीलगायत विद्युत् प्रयोग गर्दै आएका छन् ।

बनेपा वितरण केन्द्रअन्तर्गत बनेपा नगरले सडक बत्तीको ५ करोड ९९ लाख ६६ हजार, धुलिखेल नगरको ५ करोड ७७ लाख ७२ हजार र पनौती नगरको ४ करोड ९८ लाख ३३ हजार विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । पाँचखाल वितरण केन्द्रअन्तर्गत पाँचखाल नगर र भुम्लु गाउँपालिको २७ लाख २१ हजार बक्यौता रहेको जनाइएको छ ।

footwear zone

बनेपा वितरण केन्द्रअन्तर्गत विद्युत् प्रयोगकर्ताबाट गत असार मसान्तसम्ममा ३२ करोड ९९ लाख बक्यौता असुल गर्न बाँकी रहेको छ । केन्द्र प्रमुख इञ्जिनीयर माधवेन्द्र यादवका अनुसार ग्राहस्थतर्फ ११ करोड १७ लाख ४१ हजार, गैरव्यापारिक क्षेत्रबाट ६ लाख २३ हजार, व्यापारिक क्षेत्रबाट रु ५८ लाख ५९ हजार, औद्योगिकबाट २ करोड ४१ लाख, खानेपानीबाट ११ लाख ३४ हजार, सिँचाइबाट ४ लाख ८७ हजार, बक्यौता छ ।

स्थानीय तहअन्तर्गत सडक बत्तीको एकमुष्ट १८ करोड १० लाख २४ हजार, मेला–महोत्सवमा अस्थायी रूपमा विद्युत् प्रयोग गरेवापतको रु दुई लाख ५९ हजार, मठमन्दिर ५ लाख २४ हजार, सामुदायिक क्षेत्रबाट ८ लाख ७८ हजार बक्यौता बाँकी छ । गैरग्राहस्थ ३२ लाख २६ हजार, सिनेमा हलको ३४ हजार, आन्तरिक खपत वापतको रु २४ हजार बक्यौता रहेको यादवले जानकारी दिए ।

पाँचखाल वितरण केन्द्रअन्तर्गत भने सडक बत्ती, व्यापारिक, सामुदायिक, ग्राहस्थ, खानेपानी, औद्योगिक, सिँचाइ तथा गैरव्यापारिकलगायत क्षेत्रको रु तीन करोड ८४ लाख ९१ हजार महसुल तिर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।

You might also like

Comments are closed.