‘केही वर्षभित्रै मुलुक औषधिमा आत्मनिर्भर हुन सक्छ’

काठमाडौं । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जनका साथ सोहीअनुसार अनुुकूल वातावरण बनाउनुपर्ने सुझाव व्यवसायीले दिएका छन् ।

केही वर्षअघिसम्म करिब १० प्रतिशतमा मात्र सीमित रहेको स्वदेशी उत्पादन अहिले त्यो बढेर करिब ५० प्रतिशत पुुगेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सकेको खण्डमा छिट्टै नेपाललाई औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दाबी उद्योगीको छ । त्यसका लागि ‘औषधि ऐन, २०३५ सहित’लाई संशोधन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

औषधि उद्योगीसँग नेपाल उद्योग वाणिज्य महासङ्घ सचिवालयमा आयोजित छलफलमा औषधिलगायत उद्योग व्यवसायसँग सम्बन्धित ऐन कानूनमा उद्योग व्यवसायलाई निरूत्साहित गर्ने खालको भाषा रहेकाले त्यसमा व्यापक सुधारको खाँचो औँल्याइयो ।

footwear zone

एक तथ्याङ्कअनुसार नेपालको औषधि बजार करिब रु ४५ देखि ५० अर्बको रहेको छ । त्यसमा हाल ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटेको छ भने बाँकी औषधि भारतलगायत मुुलुकबाट आयात हुने गरेको छ ।

केही स्वदेशी उद्योगले थोरैमात्रामा निर्यातसमेत गर्दै आएका छन् । औषधिको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको छ । औषधिमा आत्मनिर्भर बन्नका लागि अनुुकूल नीति र त्यसको प्रभावकारी कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

नेपाल औषधि उत्पादक सङ्घ(एपोन)का नवनिर्वाचित पदाधिकारी एवं कार्य समिति सदस्यको सम्मानमा महासंघले आयोजना गरेको स्वागत एवं बधाई कार्यक्रममा औषधि उद्योगीले महासंघले अगाडि सारेको राष्ट्रिय आर्थिक रूपान्तरणको मार्गचित्र (नेट) २०३० लाई सफल पार्न आफ्नो क्षेत्रबाट पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत जनाए ।

महासंघका अध्यक्ष शेखर गोल्छाले औषधि उत्पादक सङ्घका पदाधिकारीलाई बधाई दिँदै मुलुकको आर्थिक भविष्य उज्ज्वल बनाउने लक्ष्यका साथ महासङ्घले ल्याएको नेट २०३० को सफल कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरे ।

महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठले महासंघले आफ्ना सदस्यको समस्या समाधानमा सधैँ उच्च प्राथमिकता दिएको विश्वास दिलाए । उद्योगधन्दाको विकास विस्तारमा रहेका समस्याको पहिचान गरी तीनको समाधान र औषधिलगायतका उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ महासंघले निजी क्षेत्रका तर्फबाट सरकारमा दरिलो पैरवी गर्ने प्रतिबद्धता जनाए ।

औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले केही वर्षअघिसम्म पनि नेपालमै औषधि बन्छ र भन्ने आमधारणा रहेकामा अहिले केहीमात्रामा निर्यातसमेत गर्नसक्ने अवस्थामा पुुगेको बताउँदै सरकारको उचित सहयोग हुनसक्यो भने अबको केही वर्षमै मुलुकलाई आत्मनिर्भर बनाउन सकिने जिकिर गरे ।

You might also like

Comments are closed.