संक्रमण घट्यो, निको हुने बढे, अस्पतालका शैय्या खाली हुँदै

शरद् शर्मा/काठमाडौं । पछिल्ला हप्तामा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै संक्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।

सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रोग प्रतिरोधात्मक क्षमता बढ्न गई संक्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका संक्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले संक्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता संक्रमित दरमा कमी आएको जानकारी दिए । उनका अनुसार पहिले परीक्षण गराएकामध्ये २२ प्रतिशत संक्रमण हुने गरेको पाइएको भए पनि अहिले त्यसमा कमी आएको छ । उनका अनुसार अहिले पीसीआर परीक्षण गरेकामध्ये १३ देखि १५ प्रतिशतमा मात्र संक्रमण देखिएको छ ।

footwear zone

संक्रमित हुनेको सङ्ख्यामा कमी आएपछि अस्पतालमा भर्ना हुने बिरामी पनि विगत १० दिनदेखि कमी हुँदै आएको अस्पतालले जनाएका छन् । संक्रमणको दोस्रो लहर आएसँगै साउनमा सङ्क्रमण बढेकामा अहिले आएर भने कमी देखिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुपराज बाँस्तोलाले पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने विरामीको संख्यामा कमी आएको बताउछन् । उनका अनुसार शुक्रराजमा सघन उपचार कक्षमा १३ जना, १५ जना एचडियु, तीन जना आकस्मिक कक्ष र तीन जना क्याविनमा रहेका छन् । शुक्रराजमा अक्सिजन चाहिने मात्र बिरामीलाई भर्ना गरिन्छ ।

धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि बढेकाले संक्रमण घटेको उनि बताउँछन् । “पहिले दैनिक २५ देखि ३० जना बिरामी आकस्मिक कक्षमा आउने गर्दथे”, उनले भने, “तर अहिले त्यो सङ्ख्या घटेर दैनिक बढीमा १० जना बिरामी उपचार गर्न आएका छन् ।” उनले समुदाय नै संक्रमित भएको र ती निको भएका व्यक्तिमा एन्टिबडी बनेकाले पनि संक्रमणले आक्रमण नगरेको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा सङ्क्रमण देखिएकामा हिजो (मङ्गलबार) भदौ २२ गते पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा एक हजार ६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएसँगै संक्रमण बढेको थियो ।

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालका डा प्रविन नेपालले पनि पहिलेको तुलनामा संक्रमित भएर आउने बिरामीको सङ्ख्यामा कमी आएको बताउछन् । उनका अनुसार एक महिनाअघि दैनिक २० जना बिरामी आउने गरेकामा अहिले दैनिक ५÷६ जना बिरामी आउने गरेका छन् । उनले विगत १० दिनदेखि बिरामीको सङ्ख्यामा कमीसमेत आएको जानकारी दिए ।

अस्पतालमा अहिले ७० जना बिरामी रहेका छन् । तीमध्ये १३ जना सघन उपचार कक्ष (आइसियु) र आठ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । नेपालमा गरिएको सर्वेक्षणमा ६८.६ प्रतिशत मानिसमा रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) बनेको पाइएको छ । यस्तै एक मात्रा खोप लगाएका व्यक्तिहरुमा ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी बनेको मन्त्रालयले जनाएको छ । नेपालमा ५० वर्षभन्दा माथिका प्राय सबैले खोप लगाइसकेका छन् ।

नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालमा अहिलेसम्म ५६ लाख तीन हजार ७५७ जनाले पहिलो मात्रा र ५० लाख १२ हजार ८२१ जनाले पूर्ण मात्राको खोप लगाइ सकेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म १ करोड ३३ लाख खोप ल्याइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने उपायहरुमध्ये भरपर्दो उपाय खोप देखिएकाले नेपाल सरकारले यसमा प्राथमिकता दिएर खोप भित्र्याएको छ ।

सरुवारोग विशेषज्ञ डा सागर राजभण्डारी खोप लगाएका र जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले सङ्क्रमण कम भएको बताए ।

उनले हरेक दिन सभा, सम्मेलन जस्ता गतिविधिले फेरि संक्रमण बढ्नसक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने सुझाव पनि दिए ।

मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा अहिले साधारण शय्यामा ५८ जना, आइसियुमा २९, भेन्टिलेटरमा २९ र हाइडिपेन्डेन्सी (एचडियु)मा ११ जना बिरामी उपचारत छन् । यस्तै वीरेन्द्र अस्पताल छाउनीमा चार जना साधारण शय्यामा, १९ जना एचडियु, १० जना आइसियु र तीन जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा (वीर अस्पताल) मा ८५ सङ्क्रमित बिरामीले उपचार गराइरहेका छन् । तीमध्ये ३३ जना आइसियु, २९ जना भेन्टिलेटर र छ जना एचडियुमा उपचारत रहेको वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले जानकारी दिए ।

संक्रमण दर नबढेको उनले बताए । “अहिले सङ्क्रमण दर स्थिर अवस्थामा रहेको छ”, उनले भने, “प्रायः सबैले खोप लगाइसको र जनस्वास्थ्यका मापदण्ड लागू गरेको हुनाले संक्रमण बढेको छैन ।”

गत फागुन र चैतमा पनि संक्रमण बढेको थिएन । वैशाखमा संक्रमणको दोस्रो लहर आएपछि सङ्क्रमण बढेको थियो । नेपालमा शुरुदेखि अहिलेसम्मको संक्रमणदर भने १९.३ प्रतिशत रहेको छ ।

सरकारले असोजसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दुई दिनअघि दिएको जानकारी अनुसार सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप ल्याउने अन्तिम तयारी गरेको छ ।

यही भदौ २१ गते १५ हजार ९७९ जनामा कारोना भाइरसको परीक्षण गर्दा एक हजार ८९७ जनामा सङ्क्रमण देखिएको हो । यस्तै भदौ २० गते एक हजार ८९ जना, भदौ १९ गते एक हजार २६८ जना, भदौ १८ गते एक हजार ७५६ जना, भदौ १७ गते दुई हजार चार जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै भदौ १६ गते दुई हजार ५२ जना, भदौ १५ गते एक हजार ६६४ जना, भदौ १४ गते दुई हजार २९५ जनामा भदौ १३ गते एक हजार ३८८ जना र भदौ १२ गते एक हजार ८५७ मा सङ्क्रमण देखिएको थियो ।

निको हुने दर पनि बढ्यो

सङ्क्रमणबाट निको हुने दर पनि दैनिक बढिरहेको छ । मन्त्रालयका अनुसार अहिले निको हुने दर ९४.७ प्रतिशत पुगेको छ । हिजो दुई हजार ७२ जना निको भएका थिए । भदौ १५ गतेदेखि निको हुने दर लगातार बढेको हो ।

यस्तै निको हुने दरमा भदौ २१ गते ९४.६ प्रतिशत, भदौ २० गते र भदौ १९ गते ९४.५ प्रतिशत, भदौ १८ गते ९४.३ प्रतिशत भदौ १७ गते ९४.२ प्रतिशत, भदौ १६ गते ९४.१ प्रतिशत, भदौ १५ गते ९३.९ प्रतिशत रहेको छ ।

You might also like

Comments are closed.