काठमाडौं । सरकारले कोभिड–१९ महामारीका कारण अति प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियतसहितका कार्यक्रम घोषण गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेको चालु आर्थिक वर्षको आर्थिक अध्यादेश प्रतिस्थापन विधेयकमा पर्यटन क्षेत्रलाई छुट तथा सहुलियतसहित विभिन्न किसिमका पूर्वाधार निर्माण तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनको व्यवस्था गरिएको हो ।
पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई लगानीका आधारमा आयकरसम्बन्धी विशेष छुट सहुलियत दिइने जनाइएको छ । नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न धार्मिक सङ्ग्रहालय स्थापना गरिने बजेटमा व्यवस्था गरिएको छ ।

राष्ट्रिय महत्वका आयोजना तथा उद्योगमार्फत रोजगारी प्रदान गर्नुका साथै उद्योगमा स्वदेशी कच्चा पदार्थको उपयोग गरिने बजेटमा व्यवस्था गरिएको छ । राष्ट्रिय महत्वका जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्ग तथा सडकमार्ग, रेलमार्गजस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासँग सम्बन्धित उद्योग तथा ३ सय जनाभन्दा बढी स्वदेशी कामदारलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योगमा गरिने लगानीलाई विशेष प्रोत्साहनको व्यवस्था गरिएको छ ।




Comments are closed.