उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने घोषणा सकारात्मक : परिसंघ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन र आन्तरिक आयमुखी बनाउने नीतिसहित चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेक प्रस्तुत गरेकोमा नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । प्रतिस्थापन विधेयकका सन्दर्भमा प्रतिक्रिया सार्वजनिक गर्दै परिसंघले नेपालको औद्योगीकरण र उत्पादनमूलक अर्थतन्त्रको विकासका लागि सरकारले अगाडि सारेका नीतिहरू सकारात्मक रहेको जनाएको छ ।

स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य एवम् तुलनात्मक लाभका वस्तुहरूको पहिचान र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गरी व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको घोषणा रहेको भन्दै परिसंघले कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म स्वदेशमै सम्पन्न हुने गरी वस्तु उत्पादन गर्ने उद्योगलाई स्वदेशी उत्पादन अभियानमा सहभागी गराई आवश्यक प्रोत्साहन गर्ने विषय प्रभावकारी रहेको बताएको छ । बहुआयामिक गरिबी न्यूनीकरण, अर्थतन्त्रको पुनरोत्थान गरी उच्चदरको आर्थिक वृद्धि र समावेशी एवं समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूलभूत उद्देश्य राखिएको विधयेकले अर्थतन्त्र चलायमान बनाउने प्रमुख यन्त्रको रूपमा निजी क्षेत्रलाई लिएकमा स्वागत गरेको छ ।

विधयेकमा औद्योगिक उत्पदानको लागत कम गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन उच्चस्तरीय सहजीकरण समिति गठन गर्ने व्यवस्थाले नेपालको उत्पादनको लागत कम गर्न नीतिगत सुधारका लागि सहयोग गर्ने परिसंघको बुझाइ छ । व्यावसायिक सहजता सूचकमा सुधारका लागि नीतिगत र कानुनी व्यवस्था गर्ने सरकारको घोषणाले नेपालमा सहज व्यावसायिक वातावरण निर्माणमा सहयोग पुग्ने परिसंघको विश्वास छ ।

footwear zone

जलाशययुक्त र अर्धजलाशययुक्त विद्युत् आयोजनालाई १५ वर्षसम्म आयकर छुट दिने घोषणाले यस्ता आयोजनामा लगानी बढ्ने विश्वास परिसंघले लिएको छ । अक्सिजन, स्यानिटरी प्याड र स्यानिटाइजर उद्योगलाई तीन वर्षका लागि आयकर छुट र त्यसपछिको दुई वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्था सकारात्मक छ । कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रका लागि थप राहत प्याकेज ल्याउने घोषणा हुनुलाई परिसंघले सकारात्मक रूपमा लिएको छ । चालु खर्च कटौती गरी बच्ने रकम कोभिड १९ विरुद्धको खोप खरिदमा प्रयोग गर्ने विषय सकारात्मक रहेको उल्लेख छ ।

You might also like

Comments are closed.