नेपालमा लायन्सवाद भित्रिएको ५० वर्ष पुरा भएर ५१ वर्ष प्रवेश भइसकेको छ । ५ दशकसम्ममा लायन्समार्फत शिक्षा, स्वास्थ्य, पर्यावरणका क्षेत्रमा तथा जहाँ आवश्यकता छ त्यहाँ लायन्स भन्ने उद्देश्यका साथ काम गर्दै आइरहेका छौं । समाजमा लायन्सको योगदान ठूलो छ । हामीले ठूला–ठूला स्कुलहरु बनायौं, अस्पतालहरु बनायौं । नेपालबाट मोतीयाविन्दुको उन्मुलनमा पनि लायन्सको ठूलो योगदान छ । यद्यपि, हामीले समाजको अपेक्षा अनुसार काम गर्न नसकिरहेको अवस्था होकि भन्ने समिक्षा पनि गर्नुपर्छ । समुदायले हामीप्रति धेरै नै ठूलो आशा र भरोसा राखेको छ ।
जतिबेला नेपालमा लायन्सवादको स्थापना भएको थियो, त्यो बेला नेपालमा जति दिनदुखीहरु थिए अहिले पनि त्यो संख्या अझै बढी छ । हामीले लायन्समार्फत राहतका कार्यक्रमलाई बढी प्राथमिकतामा राख्यौं । यसले गर्दा नेपालमा रहेका दिनदुखीहरु अवश्य पनि लाभान्वित भएका छन् । राहतले गर्दा अर्कोतर्फ परनिर्भरता बढेको होकि भन्ने पनि हामीलाई महसुस भएको छ । लायन्सहरु हाम्रो घरमा आउँछन् मेरो चुलोचौको बल्छ, मेरा छोराछोरीले स्कुल जान पाउँछन्, स्टेसनरी, ड्रेस पाउँछन् भन्ने सोचले उनीहरु अल्छी पनि भएकी भन्ने लागेको छ । ५ दशकको अवधिमा जे–जति काम भएका छन् ती सबै काम प्रशंसनीय र उदाहरणीय छन् । अब त्यो काम गर्ने शैलीलाई केही परिमार्जन गर्नुपर्छ भन्ने सोचमा हामी पुगेका छौं ।
अहिले राष्ट्र पनि समृद्धिको नाराका साथ अगाडि बढेको छ । संसारका सबै देशहरुमा दीगो विकासको अवधारणा अनुसार काम भइरहेको सन्दर्भ छ । संसारबाट २०३० सम्ममा गरीबी निवारण गर्नुपर्छ भनेर लागेको अवस्था छ । यो अवस्थामा अब लायन्सले पनि पृथक तरिकाले नवीनतम सोचका साथ अगाडि बढ्नुपर्छ । हाम्रो डिष्ट्रिक्टमा मात्रै ६ सय १० भन्दा बढी क्लब चार्टर भइसकेका छन् । १६ हजार भन्दा बढी लायन्स मेम्बर छन् । संसारका ७ सय ५२ डिष्ट्रिक्ट मध्ये हामी सबैभन्दा ठूलो डिष्ट्रिक्टको प्रतिनिधित्व गर्छौं । हामीले गर्ने कामहरु बिगतका भन्दा केही फरक र पृथक हुनैपर्छ । बिगतमा परम्परागत रुपमा जसरी काम गर्दै आइरहेका थियौं, त्यो भन्दा भिन्न सोच लिएर अगाडि बढ्नुपर्छ । सधैं हामीले माछा मारेर खान दिनुभन्दा माछा पाल्न सिकाउने, माछा पालिसकेपछि त्यसलाई बजारीकरण गर्न सिकाउने अभियानमा समुदायलाई जोड्नुपर्छ । समुदायमा पनि देखिने खालको र १६ हजार लायन्सले गर्व गर्ने खालको काम गर्नुपर्छ । समृद्धिको अभियानमा लायन्स जोडिनुपर्छ । दुरदराजमा रहेका दिनदुखी समुदायलाई अब परनिर्भर नबनाइकन आत्मनिर्भर बनाउने अभियानमा लायन्स लाग्नुपर्छ ।

फरक काम गर्दै समृद्धि र विकासको अभियानमा लायन्सलाई जोड्नुपर्छ भन्ने मान्यताका साथ हामीले हाम्रो कार्यक्षेत्रमा रहेका १४ जिल्लामा ‘लायन्स उद्यमी नमुना गाउँ’ बनाउने अभियानमा लागेका छौं । १४ जिल्लामा एक÷एक वटा गाउँ छनोट गरेर हामीले यो अभियानलाई अगाडि बढाइसकेका छौं । कतिपय गाउँमा यो अभियानको उद्घाटन भएर कामसमेत सुरु भइसकेको अवस्था छ । हामीले छनोट गरेका गाउँहरुमा केन्द्रिकृत गरेर लायन्सका गतिविधिहरु हुनेछन् । गाउँलाई एडप्सन गरेर पञ्चवर्षीय योजना बनाएर काम गरिरहेका छौं । जसले गर्दा त्यो गाउँको समुन्नत विकासमा योगदान पुग्नेछ । उनीहरु आत्मनिर्भर भएर आयआर्जनमा लाग्न सक्नेछन् ।
यसैक्रममा कास्की जिल्लाको मादी गाउँपालिकामा रहेको फाम लंकाथर गाउँलाई हामीले एडप्सन गरेका छौं । जहाँ कार्यक्रम उद्घाटनसमेत भइसकेको छ । लमजुङको मध्यनेपाल नगरपालिकाको पैदावन गाउँ छ । जुन दुर्गम गाउँ पनि हो । त्यहाँ ५० घर छन् । कुनै पनि घरमा सरकारी जागिरे छैनन् । त्यहाँ कृषिलाई प्राथमिकतामा राखेर काम गर्नेछौं । गोरखामा तीनघरे मगरबस्तीलाई सेलेक्ट गर्दैछौं । गाउँ सेलेक्ट गर्दा स्थानीय तहको सहकार्यमा अगाडि बढिरहेका छौं । स्थानीय तह र प्रदेश सरकारको समेत सहकार्यमा कार्यक्रम अगाडि बढाइरहेका छौं । तनहुँको राइपुरको हलहलेलाई लिएका छौं । जहाँ गुरुङ र मगर बस्ती छ । बागलुङमा बागलुङ नगरपालिका १ मा रहेको माझी बस्तीलाई सेलेक्ट गरेका छौं । म्याग्दीमा मंगला गाउँपालिका १ मा रहेको खाइबाङ गाउँ, नुवाकोटमा विदुर नगरपालिकाको किउरेनी बस्ती, काभ्रेको पनौति नगरपालिकाको वडा २ मा रहेको तामाङ बस्तीमा काम गर्दैछौं । गुल्मीको सत्यवती गाउँपालिकाको एउटा गाउँ र अर्घाखाँचीको एउटा सानो बस्तीलाई सेलेक्ट गरी काम गरिरहेका छौं । ती गाउँहरुमा सम्भाव्यता अध्ययनका लागि टोलीसमेत खटाएका छौं ।
आधुनिक कृषिलाई हामीले प्राथमिकतामा राखेका छौं । एग्रोटुरिजमलाई पनि हामीले फोकस गरेका छौं । होम स्टेको काम पनि हुनेछ । जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन होस् । हाम्रो डिष्ट्रिक्टमै १६ हजार लायन्स र नेपालभर ४४ हजार भन्दा बढी लायन्स रहेकाले त्यो नेटवर्क प्रयोग गरेर पनि हामीले पर्यटन प्रवद्र्धन गतिविधि गर्न सक्नेछौं ।
हामीले १४ जिल्लाका १४ गाउँलाई सेलेक्ट गरी उद्यमी अभियानमा जोडिरहँदा हाम्रो डिष्ट्रिक्टका १६ हजार लायन्सलाई नै त्यो अभियानमा जोड्नेछौं । उद्यमी परियोजनामा काम गर्ने क्रममा सिधैं सिड मनी दिने योजना पनि छ । क्लबले सामान्य कार्यक्रम गर्दा पनि ५० हजार, १ लाख रुपैयाँ खर्च हुन्छ । एउटा क्लबले कम्तीमा ५० हजारले लघुउद्यमको कुनै एउटा परियोजना सुरु गर्न सकिन्छ । त्यहाँको स्थानीय आवश्यकतालाई हेरेर हामी काम गर्ने छौं । हामीले ती गाउँहरुको माटो परीक्षण पनि गरिरहेका छौं । त्यहाँको माटो र भुगोलले कुन कृषि खेती राम्रो हुन्छ हामीले त्यसैमा जोड दिन्छौं । स्थानीयलाई उपभोक्ता समिति बनाएर उहाँहरुलाई के कुरामा रुची छ त्यसलाई पनि बुझेर काम गर्छौं । गाउँमा पनि हामीले विविधतालाई जोडेर काम गर्छौं । गाउँमा रहेका ५÷६ घरका छुट्टाछुट्टै विभिन्न समूह बनाएर फरक फरक खालका उद्यममा जोड्छौं । जसले गर्दा उत्पादनहरुले बजार पाउन सकोस् भन्नेतर्फ हामी सचेत छौं । कसैले फूल खेती, कसैले माछापालन, कसैले तरकारी खेती गर्न सक्छन् । ३ देखि ५ महिनामा आयआर्जन गर्नसक्ने गरी काम गर्नेछौं । यो अभियानमा ५० प्रतिशत लायन्सले र ५० प्रतिशत स्थानीय तहले लगानी गर्ने गरी अगाडि बढेका छौं । जसले गर्दा विकासमा सहभागितामूलक प्रतिनिधित्व पनि हुनेछ ।
भिडियो: १४ जिल्लाका १४ गाउँलाई उद्यमी गाउँ बनाउँदैछौं
देशलाई समृद्ध बनाउन यो अभियान अगाडि बढेको छ । यो अभियानमा स्थानीय तह र प्रदेश सरकारको तर्फबाट पनि हामीले उत्साहजनक साथ प्राप्त गरेका छौं । हाम्रो अर्थतन्त्र आयातमुखी छ । तरकारी मात्रै आयातमा कमी ल्याउन सक्यौं भने पनि धेरै रकम बचत हुन्छ । हामीले त्यसतर्फ सोच्नुपर्छ । गाउँलाई उत्पादनसँग जोडेर अगाडि बढ्दा स्थानीयहरुको जीवनस्तर त अवश्य पनि उकासिनेछ भने त्यसको अप्रत्यक्ष फाइदा देशलाई पनि हुनेछ । हामीले गरेको कामबाट स्थानीय सरकार पनि उत्साही भएको पाएका छौं । त्यसले पनि हामीलाई काम गर्न उत्साह मिलेको छ ।
हामीले सेलेक्ट गरेका गाउँहरुमा कार्यक्रम गर्नका लागि पञ्चवर्षीय योजना बनाएका छौं । कम्तीमा २ वर्षसम्म सबै हिसाबले पृष्ठपोषण गर्ने, तालिम दिने, विज्ञहरु लगेर काम गर्ने, स्थानीय सरकारलाई संरक्षक बनाएर काम गर्नेछौं । एउटा गाउँमा कम्तीमा सय जना लायन्सहरु प्रत्यक्ष रुपमा जोडिनेछन् । ५ वर्षसम्म स्थानीय लायन्स क्लबका साथीहरुले आफ्नो सिग्नेचर कार्यक्रम सोचेर काम गर्नुहुनेछ ।
यो अभियानमा लायन्सहरुबाट वेलफेयर बैंकमार्फत सिड मनी उठाउने काम गरिरहेका छौं । आफू जन्मिएको ठाउँ तथा जिल्लामा कार्यक्रम हुँदा धेरै लायन्सले उत्साहजनक सहभागिता जनाउनुभएको छ । एनआरएनए लगायत गैर लायन्सलाई पनि हामीले यो अभियानमा जोड्न सक्छौं र जोडिरहेका छौं । समाज रुपान्तरणका लागि हामीले भूमिका खेल्नुपर्छ भनेर साथीहरु लागिरहेको लेख्दा सबैले गर्व गर्ने वातावरण बनिरेको छ ।
सुरुमा हामीले एउटा गाउँमा २५ लाख रुपैयाँको बजेटबाट काम सुरु गर्छौं । स्थानीयको चासो र कामको आधारमा र आवश्यकता अनुसार बजेट बढ्ने छ । सबै लायन्स साथीहरुलाई ती गाउँमा भिजिट पनि गराउँछौं । क्लबहरुले वर्षभरी गर्ने कार्यक्रमलाई ती गाउँहरुमै फोकस गर्नेछौं । स्वास्थ्य, पर्यटन, पर्यावरण, शिक्षा लगायतका क्षेत्रमा पनि ती काममा कार्यक्रम हुनेछन् । स्थानीयहरुको गरीबी निवारणसँगै समग्रमा दीगो विकासमा योगदान पुग्ने गरी हामीले ५ वटा विधामा रहेर काम गर्नेछौं । गरीबी निवारणका लागि सिधै परियोजनामा जोड्ने, क्वालिटी एजुकेसन, शुद्ध खानेपानी अभियान, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्नेछौं ।
कुराकानीमा आधारित




Comments are closed.