कोरोना ‘ग्रिन जोन’तर्फ बागलुङ

तारानाथ आचार्य/बलेवा । कोरोना संक्रमण तीव्र भएपछि गत वैशाख ८ गतेदेखि निषेधाज्ञा र रेडजोनमा परेको बागलुङ सामान्यतर्फ जान थालेको छ । पचासी वडामध्ये अब दुई मात्रै रेडजोनमा छन् । शनिबार स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको संक्रमणग्राफले बागलुङ नगरपालिका–२ र ५ मात्रै रेडजोनमा परेका हुन् । तीबाहेक अन्य स्थान सामान्य भइसकेका छन् । वडा नंं २ मा १६ र वडा नंं ५ मा १३ कोरोनाका सक्रिय संक्रमित छन् । वडा नंं २ मुख्य बजार र वडा नंं ५ मा बिहेभोज खाएकामा धेरै संक्रमण देखिएको हो ।

अब बागलुङ –१, ३, ४, ६, ७ र ८ तथा वडा नंं १२, १३ र १४ मा केही संक्रमित होम आइसोलेसनमा बाँकी छन् । नगरपालिकाभित्र कूल ४९ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । सरकारले सात जनाभन्दा कम संक्रमित भएमा त्यस्तो वडालाई पहेँलो, सात जनाभन्दा बढी सङ्ख्या संक्रमित भएमा रातो चिह्न लगाउने प्रावधान राखेको छ । अब गलकोट नगरपालिका–११, काठेखोलामा पाँच, बरेङमा चार, जैमिनीमा एक र तमानखोलामा एक जना सक्रिय संक्रमित बाँकी छन् । अन्य सबै वडालाई निलो रङ लगाइसकिएको छ ।

गत साउन तेस्रो सातादेखि भदौ १५ गतेसम्म निरन्तर निषेधाज्ञा गरेपछि जिल्लामा संक्रमित घटेको हो । अझै पनि सुरक्षित रहनुपर्ने अवस्था भने बाँकी नै रहेको कार्यालयका प्रमुख सुरज गुरौले बताए । “महामारीले संसारलाई समस्यामा पारेको बेला हामी सुरक्षित छौँ भन्न सकिएन, तर अहिले सचेत भएर काम गर्दा जोगिने अवस्था छ”, उनले भने, “भर्खरै ग्रिनजोन छ भन्दै गर्दा संक्रमित थपिएर रेडजोन बन्न सक्छ ।” सरकारले ल्याएको स्मार्ट लकडाउन र निषेधाज्ञा व्यवस्थापन गर्ने नयाँ कार्यविधिले वातावरण सहज बनाउन भने सहयोग गरेको उनले बताए ।

footwear zone

सरकारले सात जनासम्म संक्रमित भएमा टोलमात्रै सिल गर्ने, त्यो भन्दा बढी भएमा वडा सिल गर्ने नीति लिएको छ । जसका कारण संक्रमण नभएको वडा सञ्चालन गर्न सहज हुनेछ । यसअघि एक/दुई जना संक्रमित हुँदा जिल्ला नै निषेधाज्ञा गर्ने क्रमले मदजुर तथा विपन्न समुदाय बढी मारमा परेका थिए । चाडपर्वको समयमा गरिने भीड तथा राजनीतिक क्रियाकलापले हुने भीड सकेसम्म सानो बनाएर काम गर्दा संक्रमणबाट बच्न सकिने धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलको भनाइ छ ।

“अहिले अस्पतालमा कोरोनाका संक्रमित घटेका छन्, तर हामी उत्तिकै सचेत छौँ”, उनले भने, “जोखिम कम भएको बेला अस्पतालमा अन्य बिरामी, शल्यक्रिया गर्नुपर्ने तथा डायलायसिस सेवालाई प्रभावकारी बनाउन लागेका छौँ ।” सङ्क्रमण कम भए पनि कन्ट्रयाक्ट ट्रेसिङ, पिसीआर र एन्टिजेन्ट विधिबाट परीक्षण भने नरोकिने उनले बताए ।

नगर स्वास्थ्य शाखा, गाउँस्वास्थ्य शाखा र अस्पतालबाट पनि नियमितरूपमा कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको उनले जानकारी दिए । स्वास्थ्य कार्यालयले त आकस्मिकरूपमा सडक, बजारका चोक तथा गल्लीमा पुगेर भेटिएका मानिसको एन्टिजेन्ट परीक्षणसमेत गराइरहेको छ ।

You might also like

Comments are closed.