काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिए ।
सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरी छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयमा विवाद भएपछि सरकारले छानबनि समिति गठन गरेको छ । समितिलाई समग्र शेयर बजारको विकृतिबारे समेत अध्ययन गर्ने गरी कार्यादेश दिइएको छ । समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनककुमार खड्का सदस्य छन् ।
पत्रकार सम्मेलनमा रु १२ करोडभन्दा बढी शेयर धितो कर्जा लिने १६२ जनाको हितका लागि काम गर्ने कि समग्र ४० लाख लगानीकर्ताको लागि काम गर्ने भन्ने प्रश्नमा अर्थमन्त्री शर्माले भने, ‘समग्र लगानीकर्ताको हितका लागि नै काम गर्नेगरी अध्ययन समितिले काम गरिरहेको छ ।’ उनले सो अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा शेयर बजारको सुधारको काम गरिने विश्वास दिलाए ।





Comments are closed.