काठमाडौं । ललितपुरस्थित झम्सीखेलको एलाकोट भवनमा रहेको द भिलेज क्याफेको आयोजनामा ‘इन्द्र जात्रा नेवारी भुये (भोज) मेला’ सुरु भएको छ । इन्द्र जात्राको अवसरमा आयोजित मेलाको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा नेपालमा पहिलो टेम्पो चालक महिला तथा उद्यमी लक्ष्मी शर्मा, वागमती प्रदेश सांसद नरोत्तम वैद्य, कोरा ट्राभल्सका सञ्चालक विजय अमात्य, सेफ एसोसिएसनका संस्थापक सुरेश बस्नेत, क्याफेका जनरल म्यानेजर गजेन्द्र मल्ल लगायतले बोलेका थिए । नेवारी संस्कृति, परम्परा र खानालाई बचाउन मेला सहयोगी हुने उनीहरुले बताए । मेला असोज ५ गतेसम्म जारी रहनेछ । मेलामा इन्द्रजात्रा विशेष आर्टसमेत प्रदर्शनीमा राखिएको छ ।
मेला अवधिभर हरेक दिन दिउसो ३ बजेदेखि ५ बजेसम्म एउटा समूह र साँझ ६ देखि ८ बजेसम्म अर्को समूहले नेवारी संस्कृति झल्कनी सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन् । पहिलो दिनमा लाखे नाँच, नेवारी म्युजिकसँगै भीमे डान्ससमेत प्रस्तुत गरिएको थियो । भुये सफल बनाउन नेपाल पर्यटन बोर्ड लगायतका संस्थाको पनि साथ रहेको मल्लले जानकारी दिए ।

‘मेला अवधिभर नेवारी खानाका २३ परिकारको स्वाद पस्कने व्यवस्था गरेका छौं,’ मल्लले भने, ‘नेवारी संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनको लक्ष्यसहित आयोजित कार्यक्रम उपलब्धीपूर्ण हुनेछ ।’ गैरनाफामूलक संस्था सवा नेपालद्वारा सञ्चालित क्याफेमा होमबेस दिदी बहिनीहरु आबद्ध छन् । उनीहरुले नै क्याफेमा आउने पाहुनालाई खानाका परिकार पस्कने गरेका छन् ।






Comments are closed.