खलंगा । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
कम्पनीले दसौंँ चाडपर्व लक्षित सुपथ मूल्य पसल यही असोज १ देखि आगामी कात्तिक २४ गतेसम्म सो पसल सञ्चालनमा ल्याएको हो । सुपथ पसलबाट चामल र दाल सहुलियत मूल्यमा बिक्री शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख तिलक सुनारले बताए ।
उनले भने, “अरुवा मोटा चामल प्रतिकिलो रु ४७ मा रु पाँच सहुलियत छुट लिएर रु ४२ मा बिक्री हुने गरेको छ, अरुवा सोना मन्सुली चामल प्रतिकिलो रु ५१.३०, मासको दाल प्रतिकिलो रु १७०, मसुरोको दाल प्रतिकिलो रु १४० र अरहरको दाल प्रतिकिलो रु १८३ मा प्रतिकिलो रु ५/५ सहुलियत छुट मूल्यमा बिक्री गरेका छौँ ।”

खाद्य व्यवस्था कम्पनीले असोज १ देखि २४ कात्तिकसम्म सहुलियत छुट मूल्यमा बिक्री गर्न एक हजार क्विन्टल कोटा पाएको छ । सहुलियत पसल खुलेको पहिलो दिनमै १९ क्विन्टल छुट मूल्यमा खरिद बिक्री भएको शाखा प्रमुख सुनारले बताए ।
सहुलियत छुट मूल्यमा चामल खरिद गर्ने यहाँका स्थानीयवासीको भीडभाड हुने भएकोले बिक्रीवितरण गर्न शाखाले तालिका सार्वजनिक गरेको छ । आज चन्दननाथ नगरपालिका, सोमबार पातासारी गाउँपालिका, मङ्गलबार गुठीचौर, बुधबार तातोपानी, बिहीबार हिमा र कनकासुन्दरी एवं शुक्रबार तिला र सिञ्जाका लागि तोकिएको छ ।
बिहान १०ः०० बजेदेखि ३ः०० बजेसम्म, प्रतिव्यक्ति दुई बोरा (६० किलो) र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने खाद्य कम्पनी शाखाले जनाएको छ । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले देशभरका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।




Comments are closed.