दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित बुल्दी खोलालाई स्वच्छ राख्न ‘स्वच्छ बुल्दी अभियान’ सुरुआत भएको छ । व्यास नगरपालिका क्षेत्रमा रहेको बुल्दी खोलालाई सफा र स्वच्छ राख्न रोट¥याक्ट क्लब अफ दमौली र रोटरी क्लब दमौलीले सो अभियान सुरु गरेका हुन् ।
सामाजिक उत्तरदायित्व बहन गर्दै क्लबले उक्त अभियान सुरु गरेको क्लबका अध्यक्ष सुशान्त अधिकारीले जानकारी दिए । संविधान दिवसको अवसर पारेर क्लबले आइतबारदेखि उक्त अभियान शुभारम्भ गरेको हो ।
“संविधान जारी भएर हरेक नागरिकको हकअधिकार प्राप्त भए पनि सबैले आफ्नो कर्तव्य र दायित्वलाई आत्मसात् गर्नुपर्छ”, उनले भने, “आफ्नो सहर र प्राकृतिक स्रोतको संरक्षण गर्न एउटा अभियान थालेका हौँ ।” उनका अनुसार प्रत्येक महिनाको दुई शनिबार बुल्दी सफाइ अभियान संचालन गरिनेछ । यसका लागि विभिन्न सङ्घसंस्थासँग समन्वय गरिने उनले जानकारी दिए ।

रोटरी क्लब दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले वातावरण संरक्षणका लागि रोटरी इन्टरनेशनलको मूल नारा रहेकाले यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । क्लबले बुल्दी सफाइ अभियानसँगै बुल्दीको इतिहास र यसको सम्पदा रक्षाका लागि पनि आवाज उठाउने बताएको छ । अभियान शुभारम्भको अवसरमा व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेनाले सहयोग पु¥याएका थिए ।




Comments are closed.