सन्तोष गौतम/म्याग्दी । नेपाली उद्योगीले पश्मिनाको कच्चापदार्थको आयात घटाउँदै आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । नेपाल पश्मिना उद्योग संघ स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पश्मिनाको धागो उत्पादन गर्ने तयारीमा जुटेको हो । संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलिया र चीनबाट ल्याउने कच्चापदार्थको विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्न लागिएको जानकारी दिए ।
“स्वदेशी ऊन प्रशोधन गर्न संघको अगुवाइमा काठमाडौंमा नेपाल फाइबर प्रोसेसिङ उद्योग खोलेका छौँ” उनले भने,“मुस्ताङको चराङमा सङ्कलन केन्द्र खोलेर डोल्पाको समेत एक करोड २५ लाख रुपैयाँ मूल्य बराबरको दुई हजार ८०० किलो ऊन खरिद गरिसकेका छौँ ।” मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको चराङमा सङ्कलन केन्द्र स्थापना भएपछि खेर गइरहेको च्याङग्राका ऊनको सदुपयोग र कृषकको आम्दानी वृद्धि हुनाका साथै पश्मिनाको कच्चापदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुगेको छ ।
विदेश निर्यात हुने पश्मिनाका लागि च्याङग्राको ऊन प्रशोधन गरेर धागो बनाइन्छ । संघका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पश्मिना निर्यात हुन्छ भने यसका लागि १९५ टन भुवाको धागो आयात हुन्छ । कच्चापदार्थको आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको संघका कोषाध्यक्ष कृष्ण पङ्गेनीले बताए । सम्भाव्यता अध्ययनका लागि दोस्रो पटक उपल्लो मुस्ताङ पुगेर म्याग्दी आइपुगेका उपाध्यक्ष लामिछाने, कोषाध्यक्ष पङ्गेनी, पश्मिना उद्योगी भीम शेरचनसहितको टोलीले लोघेकर–दामोदरकुण्ड, लोमान्थाङ बारागुङ र मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि तथा च्याङग्रापालक कृषकसँग अन्तक्र्रिया गरेको थियो ।

गत साउनको दोस्रो साता संघको टोलीले भुवाको सम्भाव्यता अध्ययन गरेर फर्केपछि सरकारले पनि यसतर्फ चासो दिएको छ । वाणिज्य र उद्योग मन्त्रालयका सचिव तथा युरोपियन युनियनको नेपालस्थित कार्यालयका प्रतिनिधि पुनः सम्भाव्यता अध्यायनका लागि यसै हप्ता मुस्ताङ जाने तयारीमा रहेको उपाध्यक्ष लामिछानेले बताए ।
विश्व व्यापार संगठनले परामर्शदाता सचिन श्रेष्ठलाई अध्ययनका लागि मुस्ताङमा पठाएको छ । पश्मिना उद्योगी शेरचनले मुस्ताङको मात्र भुवा प्रशोधन गर्न सकेमा पनि ३० प्रतिशत भुवाको धागो आयात घटाउन सकिने बताए । “परम्परागत र अव्यस्थितरुपमा सङ्कलन गरिएको मुस्ताङको भुवा प्रशोधन गर्दा ३० प्रतिशत प्रयोगयोग्य हुने देखिएको छ,” उनले भने,“च्याङग्रापालन र भुवा संकलनलाई आधुनिक र व्यवस्थित बनाउने हो भने अझ यसको गुणस्तर बढाउन सकिन्छ ।”
बजार सुनिश्चित नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । ऊन च्याङ्ग्राको शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन साटेर लैजान्थे ।
कोरोनाका कारण पछिल्लो दुई वर्षयता व्यापार मेला नहुँदा करोडौं मूल्यको ऊन बिक्री हुन सकेको थिएन् । लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले खेर गइरहेको ऊनले उचित मूल्य र बजार पाएपछि कृषकमा खुसीयाली छाएको बताए । लोमान्थाङ, कागबेनी र जोमसोममा पनि भुवा संकलन केन्द्र राख्न कृषकले प्रस्ताव गरेका छन् ।
कृषकले केन्द्रमा ल्याउने ऊन सङ्कलन गरेर सङ्घले खरिद गरी काठमाडौं लैजाने सम्झौता भएको छ । प्रतिकिलो अप्रशोधित ऊन रु चार हजार ५०० मा खरिद गर्ने सङ्घले जनाएको छ । वैशाख र जेठ महिना च्याङग्राको शरीरबाट ऊन निकाल्ने याम हो । च्याङग्राको मासु छाला र मल पनि बिक्री हुन्छ ।
पश्मिना उद्योगी उत्सव खनालले च्याङग्राको सङ्ख्या बढाउन, हिउँदमा आहारा जुटाउन घाँस खेती, भण्डारण र महामारीबाट बचाउन खोपको व्यवस्था गरिनुपर्ने बताए । च्याङ्ग्राको ऊन पश्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको ऊनलाई गुणस्तरीय मानिएको छ ।
मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका कृषकले व्यावसायिक च्याङग्रापालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यका अनुसार यस क्षेत्रमा ५२ हजार च्याङ्ग्रा पालिएको छ ।




Comments are closed.