चितवन । जिल्लाका सात पालिकाले संचालन गरेको आइसोलेशनमा कोरोना संक्रमित आउन छाडेपछि खाली भएका छन् । यहाँका पालिकाले गत चैतदेखि संचालनमा ल्याएको आइसोलेशनमा अहिले बिरामीको संख्या शून्य भएसँगै आइसोलेन खाली भएका हुन् ।
कोरोना संक्रमण दर बढ्दै जाँदा गत जेठ र असारमा ती आइसोलेसनमा दैनिक ५० भन्दाबढी बिरामीको उपचार गराइएको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लाका सात पालिकामा १२५ श्ययाको आइसोलेशन स्थापना गरिएको थियो ।
भरतपुर महानगरपाकिलामा ३०, माडी नगरपालिकामा– १०, खैरहनी नगरपालिकामा–२०, राप्ती नगरपालिकामा–२०, कालिका नगरपालिकामा–१२ रत्ननगर नगरपालिकामा–आठ र इच्छाकामना गाउँपालिकामा २५ श्ययाको आइसोलेशन संचालनमा ल्याइएको थियो ।

विगत केही समयदेखि राप्ती र खैरहनीकोे आइसोलेशनमा बिरामीको सङ्ख्या शून्य हुँदैआएकामा अहिले सबै आइसोलेशनमा बिरामीको संख्या शून्य भएको हो ।
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले गत फागुनमा सबै स्थानीय तहलाई आइसोलेशन स्थापनाका लागि अनुरोध गरेकामा सोहीअनुसार संचालनमा आएको आइसोलेशन अहिले बिरामी शून्य भएपछि संचालनमा आउन सकेका छैनन् ।
“संचालनमा नआए पनि बिरामी बढ्दै गए त्यहाँ राख्न सकिने छ,” उनले भने, “आइसोलेशन बन्द गरिएको छैन । अहिले संचालनमा मात्र नल्याइएको हो ।”
कतिपय आइसोलेशन अस्पतालमा नै संचालन भइरहेकाले आवश्यकतानुसार संचालन गर्न सकिने उनको भनाइ थियो । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५६० रहेकामा ५२१ होम आइसोलेशनमा छन् भने ३९ अस्पतालमा उपचाररत छन् । जिल्लामा हालसम्म २५ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४१२ को मृत्यु भइसकेको छ भने २४ हजार ८५३ निको भएर घर फर्किसकेका छन् । यहाँका अस्पतालमा अहिले ५२ संक्रमितको उपचार भइरहेको छ । यहाँका अस्पतामा ५९२ श्यया कोभिडका बिरामीको लागि छुट्याइएको थियो ।




Comments are closed.