पोलको भाडाका लागि ताकेता

म्याग्दी । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत्का खम्बा प्रयोग गरेका केबल र इन्टरनेट सेवा प्रदायकलाई सम्झौता, नवीकरण र बक्यौता भुक्तानीका लागि ताकेता गरेको छ । प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोन/इन्टरनेट/केबल/टिभीसेवा सञ्चालन गरेका सेवा प्रदायकलाई यही असोज १५ गतेभित्र भुक्तानी गर्न भनेको हो ।

केन्द्रका प्रमुख प्रशान्त झाले नयाँ सेवा प्रदायकलाई प्रक्रिया पूरा गरी सम्झौता गर्न र यसअघि सम्झौता गरेकालाई नवीकरण गर्न तथा बक्यौता तिर्न मंगलबार सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए ।

“केन्द्रले सार्वजनिक सूचना जारी गरेपनि म्याग्दीमा प्राधिकरणको पोल प्रयोग गरेका सेवा प्रदायक सम्झौता, नवीकरण र बक्यौता तिर्न अटेरी गरेको हुँदा असोज १५ गतेसम्मको लागि समय दिएका छौ,” उनले भने “तोकिएको मितिभित्र सम्झौता नगर्ने सेवा प्रदायकको विद्युत् प्राधिकरणको संरचनामा जडान भएका अप्टिकल फाइफर तथा अन्य उपकरण हटाउने केन्द्रको निर्देशन आएको छ ।”

footwear zone

जिल्लामा दुई केबल टिभी र पाँच इन्टरनेट सेवा प्रदायकले विद्युत् प्राधिकरणको खम्बा प्रयोग गरेका छन् । यसअघि नगरपालिका क्षेत्रमा प्रतिपोल रु एक सय र गाउँपालिका क्षेत्रमा रु पचासका दरले वार्षिक भाडा तिर्ने गरेका थिए । केबुल तथा इन्टरनेट सेवा प्रदायकले प्राधिकरणले तोकेको खम्बाको नयाँ भाडादर महँगो र अव्यवहारिक भएकाले सम्झौता र नवीकरण नगरेको प्रक्रिया दिएका छन् ।
नयाँ दररेट अनुसार नगर र गाउँपालिका क्षेत्रका ३३/११ केभी र सो भन्दा कम क्षमताको लाइनको विद्युत् संरचना प्रयोग गरेबापत प्रतिकिलोमिटर वार्षिक रु सात हजार भाडा तिर्नुपर्छ ।

पब्लिक भिजन केबुल सहकारी संस्थाका प्रबन्धक नवराज पौडेलले प्राधिकरणको भाडादर पहाडी र हिमाली जिल्लामा अव्यवहारिक र महँगो भएकाले समायोजन नभएसम्म सम्झौता नवीकरण नगर्ने सामूहिक निर्णय भएको जानकारी दिए । विद्युत्को खम्बा भाडा समायोजन गर्न विद्युत् प्राधिकरणलाई दबाब दिन बुधबार देशभरका चार सय केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीको काठमाडौंमा भेला आयोजना गरिएको उनले बताए ।

You might also like

Comments are closed.