काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालीन व्यवसायलाई सहजरुपमा सञ्चलान गरी सामान्य अवस्था फर्काउन कार्यदल बनाइने बताएका छन् । काठमाडौं उपत्यकाका पर्यटनसँग सम्बन्धित व्यवसायीसँग मन्त्रालयमा बुधबार भएको छलफलमा उनले मन्त्रालयका सहसचिवको नेतृत्वमा सम्बन्धित अन्य मन्त्रालय, विभाग र सम्बद्ध व्यवसायी सम्मिलित सदस्य रहेको कार्यदल बनाइने बताए । ती व्यवसाय पूर्णरुपमा खुला गर्दा हुने सकारात्मक र नकारात्मक असरबारे अध्ययन प्रतिवेदनका आधारमा थप निर्णय लिइने गृहमन्त्री खाँणको भनाइ थियो ।
व्यवसायको सम्मान राष्ट्रको सम्मान भएको भन्दै पर्यटन र रात्रिकालीन व्यवसायलाई सम्मानित बनाउन सबै लाग्नुपर्ने उनले बताए । “व्यवसायको सम्मान राष्ट्रको सम्मान हो । रात्रिकालीन व्यवसायलाई सम्मानित बनाउँ”, मन्त्री खाँणले भने, “सरकार पर्यटन व्यवसायमैत्री छ । हामी तपाईहरूलाई स्वतन्त्ररूपमा व्यवसाय चलाउन दिने पक्षमा छौँ । तर नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व हो । त्यसमा व्यवसायी र सरकार गम्भीर बन्नुपर्छ ।”
पर्यटन व्यवसायीले भोगेको पीडाबारे सरकार जानकार रहेको भन्दै व्यवसायीका पीडामा सरकार संवेदनशील रहेको उनले उल्लेख गरे । कुनै पनि नेपालीको अकालमा मृत्यु हुन नदिन सरकारको पहिलो प्राथमिकता रहेको भन्दै त्यसमा ख्याल गर्न व्यवसायीलाई उनले आग्रह गरे ।

सरकार पर्यटन व्यवसायीको संवद्र्धनका पक्षमा रहेको बताउँदै उनले पर्यटन व्यवसायलाई कसरी पूर्णरूपमा पहिलाको जस्तै अवस्थामा फर्काउन सकिन्छ भन्ने विषयमा विश्लेषण गरेर अगाडि बढ्ने बताए । मन्त्री खाँणले स्वास्थ्यका मापदण्ड पूरा गरेर र सरकारका नीतिनियम पालना गरेमा व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।
बैठकमा गृहसचिव टेकनारायण पाण्डेले व्यवसायलाई सुरक्षित बनाउने दायित्व व्यवसायीको भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताए । जनजीवनलाई सामान्यीकरण गर्न सरकार तयार रहेको उल्लेख गर्दै उनले त्यसमा व्यवसायीले निर्धारित मापदण्ड प्रयोग गरेर सहयोग गर्नुपर्ने बताए । पर्यटन व्यवसाय खुलेपछि बन्द नहुनेगरी सजगता र तयारी अपनाउन पनि उनले आग्रह गरे ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अहिलेसम्म पर्यटन व्यवसाय खुल्दा केही स्थानमा स्वास्थ्यको मापदण्ड पालनामा समस्या देखिएको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको बताए । व्यवसाय, पर्यटक र शान्तिसुरक्षालाई व्यवस्थित बनाउनसमेत ध्यान दिनुपर्ने उनले बताए ।
बैठकमा दोहोरी व्यवसायी सङ्घका विनोद श्रेष्ठ, ठमेल पर्यटन विकास परिषद्का राजुमान डङ्गोल, व्यवसायी मिलन कार्की, रात्रिकालीन व्यवसायी सङ्घका दिनेश श्रेष्ठ, डान्सबार सङ्घका राजकुमार लामाले कोभिड–१९ का कारण व्यवसाय बन्द हुँदा आफूहरूले झेल्नुपरेका समस्याबारे अवगत गराएका थिए । उनिहरुले आफूहरू सरकारले बनाएको नीतिनियम र स्वास्थ्य मापदण्ड पालना गर्न तयार रहेको भन्दै २४ सै घण्टा व्यवसाय सञ्चालनका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए ।




Comments are closed.