अशक्त नागरिकको घरमै नागरिकता वितरण

खोटाङ । साकेला गाउँपालिकाले शारीरिकरुपमा अशक्त भएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकलाई गाउँपालिकाले उनीहरुको घरैमा लगेर नागरिकताको प्रमाणपत्र वितरण गरेको हो ।

गाउँपालिकाले वडा नं २ रतन्छाका ९६ वर्षीय नन्दलाल फुयाँल, वडा नं ४ मात्तिमका २० वर्षीय खगिन दर्जी, वडा नं ३ खिदिमा बोराटोलकी २५ वर्षीया कृष्णकुमारी खत्री र २५ वर्षीया रामकुमारी राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको जनाइएको छ । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा अनुसूची तयार गरेर पठाएपछि प्रशासनका प्रतिनिधि दिनेश आचार्यको रोहबरमा गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिए ।

गाउँपालिकाभित्र रहेका अन्य ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको पहिचान गरेर उनीहरुलाई पनि क्रमशः घरैमा लगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले पाउने नेपाली नागरिकताको प्रमाणपत्र बनाउन आवश्यक कागजात गाउँपालिकामै तयार पारेर आफ्ना प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय दिक्तेल पठाएको थियो ।

footwear zone

जिल्ला प्रशासन कार्यालयमा सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाली नागरिकताको प्रमाणपत्र तयार भएपछि प्रशासनकै प्रतिनिधि गाउँमै पठाएर अनुसूचीमा सनाखत गराउँदै नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

नेपाली नागरिताको प्रमाणपत्र पाएसँगै उनीहरुले बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता पाउने बाटो खुलेको छ । गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेपछि नागरिकताको प्रमाणपत्र विहीन अशक्त र अपाङ्गता भएका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोकिएको थियो । नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएसँगै ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको सामाजिक सुरक्षाभत्ता लिने बाटो खुलेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक राईले बताए । जिल्लाको सबैभन्दा सानो पाँच वडामात्र रहेको उक्त गाउँपालिकामा गत वर्षदेखि बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो ।

 

You might also like

Comments are closed.