महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

दार्चुला । महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्ने मलघट्टेमा तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माणको काम अघि बढाउन माग गरिएको हो ।

व्यास गाउँकार्यसमिति कांग्रेसले प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन बुझाउँदै पुल निर्माणको काम तत्काल अघि बढाउन निर्माण व्यवसायीलाई ताकेता गर्न ध्यानाकर्षण गराएको छ । पुल निर्माण कार्य अलपत्र छाड्दा गत साउन १५ गते व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्मरण गराउँदै कांग्रेसले तत्काल पुल निर्माणको काम अघि बढाउन भनेको छ ।

विसं २०७८ साउन २८ गते सस्पेन्सन बृज डिभिजनले पुल निर्माणको जिम्मा पाएको खम्पाछे÷रुविना जेभीका प्रतिनिधिलाई बोलाएर २०७८ पुस मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गरिसक्न निर्देशन दिएको थियो तर अहिलेसम्म काम नै अघि नबढेको भन्दै कांग्रेसका व्यास सभापति नरेन्द्र भट्ट नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो ।

footwear zone

महाकाली नदी वारपार गर्न व्यासका वडा नं २, ३ र ४ का नागरिकका लागि अहिले तुइन छैन । भारतीय एसएसबीले तुइन काटिदिँदा अहिले यो क्षेत्रमा नाकाबन्दीजस्तै भएको छ । नेपालतिर निर्माणाधीन खलङ्गा–तिंकर सडकखण्ड ठाउँठाउँमा अवरुद्ध छ । सो क्षेत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने योजना अघि बढेको थियो । सोहीअनुसार महाकाली नदीका चार ठाउँमा एकसाथ तुइन विस्थापन गर्दै पुल निर्माण कार्य अघि बढेको थियो ।

विसं २०७६ मा व्यासको बडुगाउ, मलघट्टे, माल र बाकुमा तुइन विस्थापन गर्न भन्दै झोलुङ्ग पुल निर्माण गर्न बोलपत्र आह्वान गरिएको थियो । सोअनुसार बडुगाउ र बाकुमा पुल निर्माण कार्य अन्तिम चरणमा पुग्दा पनि मालघाट तथा मलघट्टेमा पुल निर्माण कार्य अघि बढ्न सकेको छैन । नेपालतिर सडकले गति लिएको छैन् । ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध हुँदा गाउँमा खाद्यान्न ढुवानी गर्न नसकिएको बताइएको छ ।

You might also like

Comments are closed.