पोखरा । पर्यटकीय नगरी पोखराको सीतापाइलामा ‘फिस्टेल ड्रिम फन पार्क’ निर्माण भइरहेको छ । पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । यस अगाडि नै निर्माण सकिने लक्ष्य लगानीकर्ताहरुको रहेपनि कोरोना महामारी, लकडाउन, निशेधज्ञा लगायतका कारण निर्माणमा ढिलाई भएको हो । पछिल्लो समय निर्माणको काम धमाधम भइरहेको र आगामी माघ/फागुनसम्म निर्माणको सम्पूर्ण काम सकिने कम्पनीको विश्वास छ ।
अन्तर्राष्ट्रियस्तरको सुविधा तथा प्रविधिसहित पार्क निर्माण भइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ६५ रोपनी जग्गामा आधुनिक पार्क निर्माण भइरहेको कम्पनीका अध्यक्ष कदम केसीले आर्थिक आवाजलाई जानकारी दिए । ‘कोरोना महामारीका कारण निर्माणमा ढिलाई भयो,’ उनले भने, ‘अब परिस्थिति सहज बन्दै गइरहेको छ । छिट्टै निर्माणको सम्पूर्ण काम सकेर पार्क सञ्चालनमा ल्याउनेछौं ।’
पार्क सञ्चालनमा आएपछि धेरै पर्यटक आकर्षित हुने लगानीकर्ताहरुको विश्वास छ । परियोजनामा ४० करोड रुपैयाँ लगानी गर्ने लक्ष्य भएपनि निर्माण समय लम्बिदा लगानी बढेको बताइएको छ । पार्कमा विभिन्न प्रकारका २४ वटा खेलका संरचनाहरु तयार पारिदैछ । फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिनेछ । सुविधा सम्पन्न तथा आकर्षक रेष्टुरेन्टको सुविधा पनि उपलब्ध हुनेछ ।

यहाँ आएका पर्यटकले पार्कमा एक, दुई दिन सजिलै बिताउन सक्नेगरी संरचना तयार पार्न लागिएको मार्केटिङ डाइरेक्टर हिरा केसी बताउँछन् । ‘पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउन समेत पार्कले सहयोगी भूमिका खेल्नेछ,’ केसीले भने ।

विभिन्न पेशा व्यवसायमा आवद्ध १५ जना व्यवसायीले पार्कमा संयुक्त लगानी गरेका छन् । पार्क सञ्चालनमा आएपछि २ सय जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । ‘नेपालमै हालसम्म सुरु नभएका खेल गतिविधिलाई समेत पार्कमा समावेश गर्दैछौं,’ केसीले भने, ‘यो पार्कलाई नेपालकै नमूना प्रोजेक्टमा रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’






Comments are closed.