नेपालगंज । हिन्दूहरुको महत्वपूर्ण पर्व दसैँ नजिकिएसँगै नेपालगंजस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर व्यवस्थित गर्न थालिएको छ । नेपालगंजको मध्यभागमा रहेको यो मन्दिर आउजाउ गर्ने दुई बाटामध्ये पश्चिमतर्पmको बाटो साँघुरो छ । उक्त बाटोको दुवै छेउमा ठेला र घुम्ती पसल राख्नाले झन साँघुरो भएकाले बाटो खुल्ला राख्न स्थानीय बासीको माग छ ।
मन्दिर प्रवेश गर्ने पूर्वतर्फ न्युरोडको बाटो भने फराकिलो छ । मन्दिर परिसरमै धार्मिकलगायत अन्य सामग्री बिक्री गर्न खोलिएका पसलका कारण दर्शन गर्न आउने भक्तजनले कष्ट भोग्नुपर्ने स्थिति आउन नदिन पनि उनीहरूले सुझाएका छन् । नेपालगञ्ज–१३ शान्तिनगर निवासी सीता पौडेलको भनाइ छ ‘‘मन्दिर परिसरभित्रै खोलिएका पसलका कारण देवीको ढोकासम्म पुग्न हम्मेहम्ले पर्ने गर्छ ।’’
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारी पसल व्यवस्थापनका लागि सटर निर्माण गरिएकाले अव त्यस्तो समस्या नआउने जिकिर गर्छन् । उनका अनुसार दसैँको तयारीकै क्रममा अहिले मन्दिर क्षेत्रको नियमित सरसफाइदेखि अन्य भौतिक पूर्वाधार निर्माणका काम पनि धमाधम भइरहेका छन् । मन्दिरमा बाँकेलगायत बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन दर्शन गर्न आउने गर्छन् । माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास छ । यो मन्दिरमा दसैंँको अष्टमी र नवमीका दिन पशु बलि दिने परम्परा बस्नाका साथै भने भाकल गरेकाले जिब्रो नै छेद्न गरेर आस्था प्रकट गर्ने गर्दछन् ।

जिल्लामा अहिले कोरोनाको जोखिम कम भएकाले यो दसँैमा मन्दिरमा भक्तजनको चाप बढ्ने आकलन गरिएको छ । यसका साथै भारतसँगको मुख्य सीमानाका जमुनाहा पूर्णरुपमा खुलेकाले भारतबाट पनि धेरै भक्तजन दसँैमा आउने सम्भावना छ । सोहीअनुरुप मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिरमा दसैँ पूजापाठको तयारीलाई थप व्यवस्थित बनाएको हो ।
समितिले मन्दिरमा सुरक्षाका लागि बाँकेका विभिन्न सङ्घ संस्था तथा सुरक्षा निकायसँग समन्वयसमेत अघि बढाएको सचिव अधिकारीको भनाइ छ । सतिदेवीको जिब्रो पतन भएको स्थानमा बागेश्वरी मन्दिर स्थापना भएको मन्दिरका मूल महन्त चन्द्रनाथ योगी बताउँछन् ।
“माता बागेश्वरीको श्रद्धा र भक्तिपूर्वक पूजा गर्नेको मनोकांक्षा पूरा हुँदै आएको छ” उनको भनाइ छ । मन्दिरमा विशेष संकल्प गर्ने भक्तजनले तोकिएको समयमा बागेश्वरी माताको खुल्ला दर्शन गर्न पाउने व्यवस्था पनि गरिएको मूल महन्तयोगी बताउँछन् ।




Comments are closed.