रबिन अवाल, लामाटार । ललितपुरको लामाटारमा खुड्किला रिसोर्ट सञ्चालनमा आएको छ । युवा व्यवसायीहरु रवीन्द्र घिमिरे र नवराज घिमिरेले रिसोर्ट संचालनमा ल्याएका हुन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर १० रोपनी जग्गामा उनीहरुले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । रिसोर्टसँगै उनीहरुले कालिज फार्म पनि सञ्चालन गरिरहेका छन् ।
रिसोर्टमा करिब ६० लाख रुपैयाँ लगानी भएको संचालक रवीन्द्र घिमिरेले जानकारी दिए । ‘पहिलो चरणमा ६० लाख रुपैयाँ लगानी भएको छ,’ उनले भने, ‘आगामी दिनमा लगानी विस्तार गरी संचरनाहरु थप गर्ने तयारी भइरहेको छ ।’
विशेष गरी कालिजको मासु खानका लागि रिसोर्टमा पाहुनाहरुको आकर्षण देखिएको घिमिरेले बताए । ‘आफ्नै फार्ममा उत्पादन गरिएका कालिजको मासु खानका लागि धेरै पाहुनाहरु आउने गर्नुभएको छ,’ उनले भने, ‘कालिजको मासुका परिकारसँगै पाहुनाको रोजाई अनुसार अन्य परिकारहरु उपलब्ध गराउँदै आइरहेका छौं ।’ रिर्सोटमा बस्न चाहने पर्यटकका लागि पहिलो चरणमा दुई वटा मात्रै रुम रहेको र आगामी दिनमा रुम विस्तार गरिने घिमिरले जानकारी दिए ।

रिसोर्ट रिङरोडबाट ८ किलोमिटरको दुरीमा पर्छ । ‘रिसोर्टबाट भ्यालीको दृश्य स्पष्टसँग देख्न सकिन्छ,’ घिमिरेले भने । सुन्दर, शान्त तथा पारिवारिक वातावरण मन पराउने पर्यटकका लागि रिसोर्ट उपयुक्त गन्तव्य बन्न सक्ने घिमिरेले बताए ।







Comments are closed.